नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकेप्रथाका कारण पार्टी बिग्रिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहेका दाहालले यस्तो बताएका हुन्।
प्रधानमन्त्री दाहालले पार्टी वा पार्टीका संगठनहरुको नेतृत्व टीके प्रथाबाट चयन गर्दा फाइदा नभएको स्वीकार गरे।
उनले अब पार्टीको पनि राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने बताउँदै सहमतिमा नभए नेतृत्व चयनका लागि निर्वाचनमा जान उपयुक्त हुने देखिएको पनि उल्लेख गरे।
प्रधानमन्त्री दाहालले सहमतिमा नभए नेतृत्व चयनको काम प्रतिस्पर्धाबाट गर्नु वैज्ञानिक हुने देखिएको भन्दै त्यहीअनुसार नेतृत्व चयन गर्न पार्टीका संगठनहरुलाई सचेत गराए।
‘मैले प्राय संगठनहरुको नेतृत्वको कुरा गर्दा भए सहमति-नभए निर्वाचन पनि भन्ने गरिएको छ। सहमति भएन भने जब्बरजस्ती टीको लगाउने प्रथाले हामीलाई फाइदा गरेको छैन। बरु स्वस्थ प्रतिस्पर्धाबाट भयो भने केही पनि बिग्रिँदैन', उनले भने, 'हामीले पार्टीमा पनि अधिवेशनतिर जाँदैछौं। त्यो अधिवेशनमा पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्नु नै बैज्ञानिक हुने देखियो।'
उनले नेतृत्व चयन सहमतिबाट भए राम्रो नभए सहमति, सहकार्यबाट हुने कुरालाई इन्कार नगरिने उल्लेख गरे। नभए निर्वाचनबाट नेतृत्व छानिने उनले बताए।
प्रतिक्रिया