राजनीति


केपी ओलीको टिप्पणी– प्रचण्डले कमिटमेन्टको वर्षामात्रै गरे

केपी ओलीको टिप्पणी– प्रचण्डले कमिटमेन्टको वर्षामात्रै गरे

नेपालखबर
चैत २५, २०७९ शनिबार १८:१, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री दाहालले भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षामात्रै गर्ने गरेको बताएका हुन्। 

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री दाहालले भने राम्रो छ भनेर बसिरहेको बताए।

‘अहिलेको त खाली गरिवहरुका लागि मात्रै होइन कि हुनेहरुका लागि पनि तरलताको कमी, पैसा छैन, बैंकले दिन सक्दैन आदि खालका कुराहरुले देशलाई आर्थिक संकटतर्फ धकेल्दैछ। र, रेमिटयान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विभिन्न विज्ञहरुले भनिराखेका छन,’ उनले भने, ‘विभिन्न पत्रपत्रिकामा छापिईराखेको छ। सरकार मात्रै ढुक्क छ। अरु कोही ढुक्क छैन। तर, मजाको कुरा के छ भने सरकार ढुक्क छ। भन्छ–अर्थतन्त्र राम्रो छ, केही हुँदैन।’

बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गरे।

उनले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरुलाई सचेत गराए।

‘प्रधानमन्त्रीज्यू तपाईहरुको बीचमा पनि आएर बोल्नु भयो होला। ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ। केही पनि छैन। भन्नु पर्दा पनि उहाँले केही बाँकि राख्नुहुन्न। तारा झारदेउन भन्यो भने त्यो तारा मात्रै होइन, जून पनि झारि दिउला भन्नु हुन्छ,’ ओलीले भने, ‘कमिटमेन्टका लागि कुने खडेरी पर्दैन। कमिटमेन्टको वर्षा हुन्छ। तर तपाईहरुले अर्थतन्त्र देख्नु भएको छ। र, म तपाई सहकारी अभियन्ताहरुलाई, सहकारीका कार्यकर्ताहरुलाई भन्नु चाहन्छु–अहिले सहकारी जति मात्रामा बदनाम भएको छ।’

अध्यक्ष ओलीले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढन सरकारलाई सुझाव दिए। एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

‘त्यो बदनाम हुन नपाओस् भन्ने कुरामा पनि तपाईहरुको ध्यान जानु पर्छ। सहकारी बद्नाम हुन नपाओस्। किनभने मान्छेको सहकारीमाथिको विश्वास धर्मरायो भने सहकारीमा कसरी जाने? हाम्रो जस्तो देश, यसका केही विशेषताहरु छन,’ उनले भने, ‘हामीसँग जमिन सरकारको छैन। जमिन व्यक्तिको छ। निजी पूँजी छ। त्यसकारणले सरकारले चाहेको काम गर्न सक्दैन। अरु देशहरुमा सरकारले चाहेको काम गर्न सक्छ। तर यहाँ त सरकारले जमिन प्राप्त गर्न सक्दैन। यस्तो खालको स्थिति छ।’

ओलीले यतिबेलाको अर्थतन्त्रको स्थितिलाई सुधार्न सहकारीलाई प्रोत्साहित र अझ सुदृढ बनाउनुको विकल्प नरहेको बताए। 

‘अहिलेको अवस्थामा, यतिबेलाको अवस्थामा, खासमा यतिबेलाको अर्थतन्त्रको स्थिति, आर्थिक अवस्थाको स्थितिमा भन्ने हो भने सहकारीलाई प्रोत्साहित गर्दैनौं, सहकारी अभियानलाई अझ सुदृढ ढंगले अगाडि बढाउँदैनौं,’ ओलीले भने, ‘र, अनाआवश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउने तर्फ हामी प्रवाह गर्दैनौं भने बगिराखेको छ पानी, खेतमा फर्कादैनौं भने कसरी उत्पादन हुन्छ? त्यसकारण यतिबेला उत्पादनमूलक काममा लगाउने भने, प्रोडक्टिभ काममा लगाउने भनेको मुख्य रुपमा चाँही सहकारीतर्फ खोलाको पानीलाई खेतमा इरिगेशन गरेजस्तै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .