परराष्ट्र मन्त्रालयले सुडानमा विकसित जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ।
मन्त्रालयले सो सम्बन्धमा हालसम्मको अवस्थाबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ।
परराष्ट्रका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखिएको छ। साथै, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरु बाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास, कायरोसँग सम्पर्कमा रहेका छन्।
कायरोस्थित नेपाली राजदूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ। यसअघि नै एक जना नेपाली सकुशल जेद्दा पुगेको र जेद्दा आइपुगेका सबै नेपालीहरुको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको पनि मन्त्रालयको भनाई छ।
नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जना नेपालीहरुमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेका छन्। यस्तै, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको छ भने तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको छ।
सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धार कार्यमा आवश्यक सहयोग एवं सहजीकरण गर्ने सबै सम्बद्ध पक्षहरुलाई नेपाल सरकारले धन्यवाद व्यक्त गरेको छ।
साथै, अझै पनि सुरक्षा अवस्था असहज रहेको बुझिएकोले सुडानमा रहेका सबै नेपाली नागरिकहरुलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न तथा आपतकालिन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास (दिपक घिमिरे, द्वितीय सचिव, मोबाइल/ह्वाट्सएप २०१०९७७७२३४८, २०१०२९६०६६६२, इमेल)मा सम्पर्क गर्न पनि परराष्ट्रले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया