राजनीति


रेखाको ‘काउन्टर’ कटाक्षपछि लिङ्देनले अमेरिकामा छोरीसँग खिचेको तस्बिर भाइरल

रेखाको ‘काउन्टर’ कटाक्षपछि लिङ्देनले अमेरिकामा छोरीसँग खिचेको तस्बिर भाइरल

छोरीसँग अमेरिकामा राजेन्द्र लिङ्देन दम्पती। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
माघ १४, २०८० आइतबार २३:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र अभिनेत्रीसमेत रहेकी नेतृ रेखा थापाबीचको घोचपेच यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। 

बच्चा जन्माउने तयारीमा रहेकी रेखा हाल पतिका साथ अमेरिकामा छिन्। सन्तानलाई अमेरिकामा जन्माउनकै लागि केही समयअघि उनी त्यहाँ गएकी हुन्। 

सोही विषयमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नै पार्टीकी नेतृ रेखाविरुद्ध कटाक्ष गरेपछि रेखाले पनि अमेरिकाबाटै जवाफ फर्काएकी हुन्। जुन सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अहिले चर्चाको विषय बनिरहेको छ।   

सुरुमा अध्यक्ष लिङ्देनले शनिबार आयोजित पार्टीनिकट प्राज्ञिक परिषद्को कार्यक्रममा रेखाको नाम नलिईकन भनेका थिए, ‘...एकजना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो। नानी जन्माउन अमेरिका! जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन। ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ?’

आफ्नो नाम नलिए पनि यो आफैँविरुद्धको कटाक्ष हो भन्ने कुरा रेखाले नबुझ्ने कुरै भएन। त्यसैले उनले पनि अमेरिकाबाटै ट्विट गरिन्, ‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो! अमेरिकामा किन राखेको?’

यत्तिले मात्र नपुगेर रेखाले अझ प्रस्ट रूपमा अर्काे पनि ट्विट गरेकी छन्, ‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोसीमा भ्वाङ परेपछि बिरालाहरू खाबो कोतर्दै छन् रे त! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि!’

खासमा लिङदेनकी छोरी समता लिङदेन केही वर्षदेखि अमेरिकामा छिन्। उनी त्यहाँ वाणिज्यशास्त्र विषयमा मास्टर्स पहिलो वर्षमा पढिरहेकी छन्। गएको दसैँमा पार्टी कार्यक्रमका लागि लिङदेन आफ्नी पत्नीसहित अमेरिका गएका थिए। त्यतिबेला उनले छोरीसँग फोटो खिचाएका थिए। रेखाको कटाक्षपछि यतिबेला त्यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .