राजनीति


एकीकृत समाजवादीको दस्तावेजमा वामपन्थी एकतालाई प्राथमिकता

एकीकृत समाजवादीको दस्तावेजमा वामपन्थी एकतालाई प्राथमिकता

फाइल तस्बिर : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल


नेपालखबर
चैत ४, २०८० आइतबार १२:१६, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ।

पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्त्व दिइएको हो। 

वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई दस्तावेजमा समावेश गर्ने उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि निर्माणाधीन दस्तावेजलाई थप अध्ययन गर्ने समय निर्धारण गरेको समितिले समान विचार तथा दृष्टिकोण भएका कम्युनिस्ट शक्तिसँग एकताका लागि अपुग भएका केही वस्तु थप्ने समझदारी भएको छ। 

यही चैत ६ गते दस्तावेज मस्यौदा लेखन समितिको बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए। उनका अनुसार राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनमाथि सुक्ष्म छलफल गरी दस्तावेज मस्यौदा लेखनलाई पूर्णता दिइने छ। 

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमबारे समेत दस्तावेज उल्लेख गरिएको खतिवडाले बताए। 

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदन, नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा वेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव तयारीका लागि नेताहरूसँग छलफल तथा परामर्श गरेका छन्।

सबै पक्षलाई समेटेर तयार गरिने प्रतिवेदन एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने पार्टीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .