ad ad

राजनीति


सुदूरपश्चिम सरकारको नेतृत्व नागरिक उन्मुक्तिले गर्ने, कैलाश चौधरी मुख्यमन्त्री बन्ने

सुदूरपश्चिम सरकारको नेतृत्व नागरिक उन्मुक्तिले गर्ने, कैलाश चौधरी मुख्यमन्त्री बन्ने

फाइल तस्बिर


गोकुल जोशी
चैत २९, २०८० बिहिबार १८:२६, कञ्चनपुर

सुदूरपश्चिममा निर्णायक शक्तिका नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रदेश सरकारको नेतृत्व गर्ने गरी सत्ता गठबन्धनको शीर्ष तहमा समझदारी भएको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नाउपालाई सुदूरपश्चिमको मुख्यमन्त्री र एक मन्त्रालय दिन तयार भएका नेताहरू बताउँछन्।

लामो समयदेखि निरन्तर सत्ता गठबन्धनसँग सम्पर्कमा रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई सत्ताघटक दलका शीर्ष नेतृत्वले सुदूरपश्चिमको मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रालय दिने समझदारी गरेको नाउपा नेताहरूको दाबी छ। 

नाउपाका संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितका अनुसार सत्ता गठबन्धनबाट पहिलो कार्यकाल नाउपाले सुदूरपश्चिमको नेतृत्व गर्ने समझदारी भएको छ। यद्यपि कुन दलले कति समय नेतृत्व गर्ने भन्नेमा केही सहमति नभएको उनको भनाइ छ।

‘पहिलो कार्यकाल हामीले नेतृत्व गर्ने समझदारी भएको छ। समयावधिबारे टुंगो लागेको छैन,’ उनले भने, ‘गठबन्धन दलहरूको आपसी समझदारीमा त्यो विषय टुंग्याइने छ।’

नाउपाले संघमा पनि एउटा मन्त्रालय पाउने छ। सुदूरपश्चिम प्रदेश सरकार गठन भएपछि एक महिनाभित्रै संघ सरकारमा पनि नाउपा सहभागी हुने नेताहरूको भनाइ छ। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित संघमा ४ सांसद छन्।

रञ्जिता यसअघि पनि मन्त्री थिइन्। यसपटक उनी मन्त्री नदोहोरिने बताउँदै आएकी छन्। त्यसो भए नाउपाका अर्का सांसद मन्त्री हुने छन्।

यसअघि लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार मन्त्रालय पाएको नाउपाले त्यहाँ थप एउटा मन्त्रालय पाउनुपर्ने माग राखेको छ। लुम्बिनीमा नाउपाका ४ सांसद छन्। 

यस्तै, १ सांसद रहेको मधेसमा पनि नाउपाले राज्यमन्त्रीसम्म पाउनुपर्ने माग राखेको छ। ‘प्रधानमन्त्रीज्यू हाम्रो मागप्रति सकरात्मक हुनुहुन्छ।

गठबन्धनमा अफ्ट्यारो नपर्ने गरी सम्मानजनक व्यवस्थापन गर्ने प्रतिबद्धतता गर्नुभएको छ,’ पण्डित भन्छन्, ‘अन्य प्रदेशको विषयमा आगामी बैठकले टुंगो लगाउनेछ।’

नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ। उनलाई हालै अध्यक्ष रञ्जिताले संसदीय दलको नेताको जिम्मेवारीमा ल्याएकी थिइन्। 

संसदीय दलको नेतामा रहेका घनश्याम चौधरीलाई बर्खास्त गर्दै रञ्जिताले कैलाशलाई नेता बनाउने निर्णय गरेको पत्र सभामुख भीमबहादुर भण्डारीलाई दिइसकेकी छन्। तर सभामुखले यसबारेमा निर्णय लिएका छैनन्।

कैलाश रञ्जितानिकट सांसद हुन। उनी कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार हुँदा राज्यमन्त्री थिए। सत्ता गठबन्धन फेरबदल भएपछि उनलाई बर्खास्त गर्दै नाउपाका अन्य सांसदलाई मन्त्रालयमा तानिएको थियो।

कैलाशको ठाउँमा राज्यमन्त्रीका रुपमा सांसद इन्द्रिरा गिरीलाई ल्याइएको थियो। गठबन्धनका विषयमा रेशम र रञ्जिताबीच उत्पन्न विवादबीच गिरीलाई रञ्जिताले कारबाही गरेकी थिइन्।

नाउपा संसदीय दलमा कैलाशभन्दा सिनियर नेता पनि छन्। रेशम कांग्रेससँग सहकार्य गर्ने पक्षमा थिए भने रञ्जिता नयाँ सत्ता गठबन्धनमा सामेल हुने पक्षमा थिइन्। 

गठबन्धनका विषयमा एक महिना लामो चलेको विवादबीच बुधबार नाउपा सांसद एकै ठाउँमा उभिए। नाउपाकै विवादले मुख्यमन्त्री नपाउने अवस्था आएपछि एकजुट भएको सन्देश दिने गरी रेशमकै उपस्थितिमा छलफलमा जुटेका थिए। 

सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन्। 

सत्ता गठबन्धनमा समझदारी बनेपछि नाउपाले सुदूरपश्चिममा सरकार गठन गर्न गृहकार्य थालेको छ। 

प्रदेशका सत्तागठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर २ गते सरकारमा दाबी पेश गर्ने नाउपा नेताहरू बताउँछन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। 

कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको निधन र नाउपाकी समानुपातिक सांसद इन्द्रिरा गिरीलाई पदमुक्त गरेपछि २ पद रिक्त छ। सिंहले जितेको बझाङ १ (१) मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

गिरीको ठाउँमा सरकारको दाबी पेश गर्नुअघि नै अर्का सांसद आउने नाउपा नेताहरू बताउँछन्।  खसआर्य क्लस्टरबाट सांसद बनेकी गिरीको ठाउँमा बन्दसूचीको तेस्रो नम्बरमा रहेका तीर्थ बोहरा सांसद बन्नेछन्। 

दोस्रो नम्बरका नेत्र जोशीविरुद्ध टीकापुर जग्गा घोटालामा मुद्दा परेको छ। नाउपा सामेल हुँदा नयाँ गठबन्धनलाई सुदूरपश्चिममा सरकार बनाउन सहज अंकगणित छ। 

माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्र सांसद एक-एकजना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .