राजनीति


सरकार भ्रष्टाचारी जोगाउन मात्रै केन्द्रित छ: प्रचण्ड

सरकार भ्रष्टाचारी जोगाउन मात्रै केन्द्रित छ: प्रचण्ड

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १०:५६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन्।

आज बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीसँगको भेटमा उनले सरकारका विषयमा यस्तो टिप्पणी गरेका हुन्।

‘यो सरकार गठन भएको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशंका गरेका थियौँ, एकसय दिनकोबीचमा त्यसलाई नै पुष्टि गर्ने काम सरकारले गरेको छ’, प्रचण्डले भने, ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुलेसमेत सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन्। यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ।’

उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको प्रचण्डको आरोप थियो। 

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँचवटा विपक्षी दलले ज्ञापनपत्र बुझाएको बताए। उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने जानकारी दिए।

‘अब हाम्रो पार्टीले सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाटसमेत आवाज उठाउने तयारी गरेको छ,’ प्रचण्डले भने, ‘आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौँमा खबरदारी सभा त्यसकै लागि हो।’

प्रचण्डले पार्टीको पक्षमा देशब्यापी राम्रो माहोल बन्दै गएको दाबी गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad