नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने/नहुने आशंकाका बीच नेताहरू तयारीमा लागेका छन्। त्यस्तै तयारीमा रहेका नेता हुन् महामन्त्री गगनकुमार थापा।
२०७९ मंसिर ४ मा भएको आम निर्वाचनमा प्रधानमन्त्री हुने अभियान लिएर काठमाडौँ-४ बाट निर्वाचित भएका थापा पुस ६ गते कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिए।
दलको नेताका लागि निर्वाचन लड्दा उनले अर्का आकांक्षी डा शेखर कोइरालालाई बल्लतल्ल मनाएका थिए। त्यतिबेला कोइरालालाई मनाएपछि थापाले भनेका थिए- '१५औँ महाधिवेशनमा डा शेखर कोइरालालाई सभापतिको उम्मेदवार प्रस्ताव गर्छु।'
त्यसबेला उनी पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवासँग पराजित हुन पुगे।
कोइरालालाई १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार प्रस्ताव गर्छु भनेका थापा अहिले आफैँ सभापति लड्ने गरी देश दौडाहा गरिरहेका छन्।
उनलाई सभापतिको उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरू मधु आचार्य, अजयबाबु सिवाकोटी, सांसदहरू प्रतिमा गौतम र कुसुम थापालगायतले पनि जोडबल गरिरहेका छन्।
बारम्बार गुट परिवर्तन
१२औँ महाधिवेशनमा सुशील कोइराला सभापति निर्वाचित हुँदा उनी सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भए। यसपछि नै उनी कांग्रेस पार्टीको केन्द्रीय राजनीतिक परिदृश्यमा आएका हुन्। १२औँ महाधिवेशनमा धेरै मत पाएर हौसिएका थापाले त्यतिबेलैदेखि १३औँ महाधिवेशनको तयारी थालेका थिए।
पार्टीको १३औँ महाधिवेशनमा महामन्त्री रहेका कृष्णप्रसाद सिटौलाले थापालाई महामन्त्रीको उम्मेदवार बनाएर आफू सभापतिको दाबेदार बने। २०७२ फागुन १९ गते काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सिटौलाले महामन्त्रीमा थापालाई लिएर आफ्नो टिम घोषणा गरेका थिए।
तर, त्यसबेला थापा पराजित भए।
महामन्त्री पराजित भएपछि थापा गुट परिवर्तनमा लागे। क्रमश: कमजोर बन्दै गइरहेका सिटौलालाई छोडेर थापा पार्टीको १४औँ महाधिवेशनमा इतर समूहको नेतृत्व गरिरहेका डा शेखर कोइरालाको समूहबाट महामन्त्रीकै उम्मेदवार बन्न आइपुगे।
१४औँ महाधिवेशनको उद्घाटन सत्रमै थापाले गुट परिवर्तन गरेको विषयमा आपत्ति जनाउँदै सिटौलाले आक्रोश पोखेका थिए।
'युवा, ऊर्जा बोकेर तल्लो संगठनदेखि आएका प्रदीप पौडेल उम्मेदवार बनेका छन्,' सिटौलाले गगनलाई लक्षित गर्दै भनेका थिए, 'आवश्यक हुँदा साथ लिएर बाहिरिनेहरूलाई पक्कै पनि महाधिवेशन प्रतिनिधिहरूले चिन्नुहुनेछ।'
१४औँ महाधिवेशनमा सभापति देउवाकै टिममा सिटौला समूह मिसिएको थियो। उनका तर्फबाट प्रदीप पौडेल उम्मेदवार थिए, जो पराजित भए।
यसपालि गगन महामन्त्री निर्वाचित भए। तर, उनकै प्यानलका सभापति उम्मेदवार शेखर पराजित हुन पुगे। अर्थात्, गगनको लोकप्रिय मत शेखरलाई 'ट्रान्सफर' भएन।
महामन्त्री भएपछि गगन पार्टीको आन्तरिक संगठनमा पनि पहुँचयोग्य र शक्तिशाली भए। उनले महामन्त्रीको हैसियतकै कारण पार्टीमा प्रभाव राख्न सकिन्छ भन्ने 'बुढा'हरूलाई पाखा नलगाई कांग्रेस सप्रिँदैन भनेका थिए।
यही कारण उनले गत प्रतिनिधि सभा निर्वाचनलगत्तै पार्टीको संसदीय दलको नेतामा शेखरलाई पछि हटाएर आफूले उम्मेदवारी दिए। उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, महामन्त्रीमा पराजित प्रदीप पौडेललगायतले समर्थन गरे।
यतिबेला शेखरले गगनलाई आवश्यक सहयोग नगरेको आरोप पनि लाग्यो। कतिसम्म भने त्यसपछि एक वर्षसम्म उनीहरूबीच हार्दिक भेट र संवाद नै भएन।
यसबीचमा शेखर र गगनबीच मिलापका लागि प्रयास नभएका होइनन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गगनलाई नेता मानेर जान आफूलाई कुनै समस्या नरहेको बताएकै हुन्। तर अहिले शर्माले पनि शेखरसँग नजिक हुने संकेत गरेपछि गगन अब कसको साथ र आडमा सभापतिको उम्मेदवार हुन्छन् भन्ने चासो बढेको छ।
शेखर र गगनबीच दूरी बढ्ने क्रम संसदीय दलको निर्वाचनबाट सुरु भएको हो। पछि नेविसंघ, संघ र प्रदेशमा मन्त्री भाग लगाउँदा गगनले देउवासँग मिलेर शेखरलाई थप टाढा बनाए।
'गगनलाई गुट चाहिँदैन'
राजनीतिक विश्लेषक जैनेन्द्र जीवन कांग्रेसको आगामी महाधिवेशनमा महामन्त्री थापा सभापतिको उम्मेदवार बन्दा कुनै गुटमा सामेल हुनुपर्ने अवस्था नभएको बताउँछन्।
'गगनले महाधिवेशनमा कुनै पनि पदमा चुनाव लड्दा अब गुटमा सामेल हुनुपर्दैन। उनले आफ्नै स्थान बनाएका छन्,' उनले नेपालखबरसँग भने, 'गगन पार्टीभित्र र बाहिर पनि पपुलर छन्। ऊर्जा र भिजन पनि देखिन्छ।'
गगनले शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा सभापतिको उम्मेदवार हुँदा आरजु देउवा राणाको राजनीतिक व्यवस्थापनको सुनिश्चितता भने गर्नुपर्ने उनले बताए।
'सभापति शेरबहादुर देउवाले पनि गगन सभापति बनून् भन्ने चाहेको छनक देखिन्छ,' उनले थपे, 'उहाँकी श्रीमतीको राजनीतिक व्यवस्थापनबारे गगनले केही सम्झौता गर्छन् भन्ने मलाई लागेको छ।'
देउवाले यही गठबन्धनलाई कायम राखेर प्रधानमन्त्री बन्नका लागि गगनको सहयोग लिएको उनको बुझाइ छ।
'अब उहाँ (देउवा)लाई प्रधानमन्त्री हुने गरी गगनले सहयोग गरिरहेकाले देउवाले पनि आगामी सभापति बनाउन गगनसँग केही राजनीतिक लेनदेन गर्न सक्छन्,' उनले भने।
गगननिकट नेता अजयबाबु सिवाकोटी थापा सभापतिको उम्मेदवार हुँदा उनको आफ्नै गुट हुने बताए।
'सभापति लड्ने व्यक्तिको आफ्नै गुट हुन्छ,' उनले नेपालखबरसँग भने, 'समर्थन र साथ भनेको जतिसक्दो धेरैको लिने हो।'
उनले गगन सभापति लड्दा कांग्रेसलाई धेरै नाफा हुने पनि दाबी गरे।
'गगन थापा सभापति बन्दै गर्दा कांग्रेसले धेरै संगठनात्मक लाभ पाउँछ,' उनले थपे, 'उनको लगाव, उनको ऊर्जाले कांग्रेसलाई अझै बलियो बनाएर देश निर्माणमा टेवा पुग्ने छ।'
कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो। विधानअनुसार चार/चार वर्षमा महाधिवेशन हुनुपर्छ। त्यसैले १५औँ महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्नेछ।
तर, अहिले नै महाधिवेशन नियमित समयमा गर्ने कि, आम निर्वाचनअघि वा पछि कहिले गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ। महामन्त्री थापा पनि नियमित समय गर्नुपर्छ भन्दै आएका नेतामध्ये थिए। तर अहिले उनले पनि महाधिवेशन निर्वाचनअघि गरौँ भन्न थालेका छन्।
Shares

प्रतिक्रिया