सत्तारुढ दल नेपाली कांग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने भनाइ पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेको छ।
केही दिनअघि प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए।
तर कांग्रेसको मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले संसद्मा बोलेको यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उनको नितान्त व्यक्तिगत भएको बताएका हुन्।
'हाम्रो प्रमुख सचेतकजीले संसद्मा बोलेको कुराको टिकाटिप्पणी भइरहेको छ। त्यो नेपाली कांग्रेस पार्टीको आधिकारिक धारणा होइन। त्यस्तो निर्णय नेपाली कांग्रेस पार्टीले लिएको छैन,' उनले भने, 'अहिले कुनै निर्णय लिने अवस्था पनि छैन। त्यस्तो दृष्टिकोण बनाएको छैन। पार्टी पंक्ति र जनमानस दुविधामा नपरे हुन्छ। प्रमुख सचेतकजीले संसद्मा यौन व्यवसायलाई खुला गर्नुपर्छ भन्ने बोल्नुभयो। त्यो उहाँको नितान्त व्यक्तिगत हो। त्यसको खालको धारणा नराख्न भनेका छौँ।’
Shares

प्रतिक्रिया