राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको भन्दै कर्णाली प्रदेशका ९ जिल्ला अध्यक्षहरूले निर्णय फिर्ता लिन अपिल गरेका छन्। आइतबार साँझ अपिल जारी गर्दै पार्टीमा योगदान दिइरहेका नेता गिरीमाथिको कारबाही मान्य नहुने बताएका हुन्।
'राप्रपा स्थापनाकालदेखि अनवरत रुपमा पार्टीमा सक्रिय रहनुभएका कर्णाली प्रदेशका जनप्रिय नेता राप्रपाका उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पार्टीको जिम्मेवार पदबाट मुक्त गरेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' पत्रमा भनिएको छ, 'उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामुहिक वक्तव्यलाई आधार बनाएर बिना कुनै सूचना र स्पष्टीकरण निष्ठावान नेता गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट पदमुक्त गर्ने कार्यले यस कर्णाली प्रदेशमा यसै त कमजोर संगठन एकातर्फ थप कमजोर हुने अवस्था छ भने अर्कोतर्फ कार्यकर्तामा निराशा बढेको छ।'
कारबाहीप्रति असहमति रहेको भन्दै उनीहरूले गिरीलाई यसअघिकै जिम्मेवारीमा फर्काउन पनि लिङ्देनको ध्यानाकर्षण गराएका छन्।
'यस कार्यप्रति हाम्रो असहमति व्यक्त गर्दै पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर उहाँलाई विधान विपरीत गरिएको कारवाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा नेता गिरीलाई पूनर्स्थापना गर्न केन्द्रीय अध्यक्षज्यूको ध्यानाकर्षण गराउँदछौँ' उनीहरूले भनेका छन्।
अपिल गर्ने ९ जिल्ला
१. कृष्ण विक्रम शाह, अध्यक्ष, जाजरकोट
२. भक्त बहादुर शाही, अध्यक्ष, दैलेख
३. हंश बहादुर मल्ल, अध्यक्ष, कालिकोट
४. राज बहादुर मल्ल, अध्यक्ष, मुगु
५. बेद बहादुर शाही, अध्यक्ष, जुम्ला
६. विनोद कुमार शाह, अध्यक्ष, रुकुम पश्चिम
७. प्रेम बहादुर रावत, उपाध्यक्ष, हुम्ला
८. सल्यान, जिल्ला अधिवेशन सम्पन्न भएको, अध्यक्ष चयन हुन बाँकि
९. अन्जु बस्याल, उपाध्यक्ष, सुर्खेत
Shares

प्रतिक्रिया