ताप्लेजुङ नेकपा एमालेका सचिव एवं प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको बताएका छन्।
प्रेस चौतारी ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताएका हुन्।
भट्टराईले देशको आवश्यताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनसहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही सरकार रहने पनि बताए।
‘देशमा विषम परिस्थिती सृजना भएकोले गतवर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको हो,’ उनले भने, ‘सरकारले देशको आर्थिक स्थिती,अन्तराष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ। कतिपय कानुन संसोधन गरेको छ। विकासका कामलाई तिव्रता दिएको छ।’
संविधान संसोधनको समयमा स्थानीय तहको संख्या घटाएर र वडाको संख्या बढाउनु पर्ने भट्टराईको भनाइ छ। उनले संविधान संसोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका संख्या पनि घटाउनु पर्ने बताए।
वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको उनको भनाइ छ।
‘हाम्रो नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ। सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आहँवन गरेको छ’ भट्टराईले भने, ‘ थुप्रै आर्थिक ऐन संसोधन भएका छन्। केही नयाँ बनाइएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संसोधन गरिएको छ। ’
उनले जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठूला परियोजनालाई कतैबाट पनि अवरोध गर्नु नहुने बताएका छन्।
Shares

प्रतिक्रिया