राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन गरिएको बताएका छन्।
संविधान दिवसको अवसरमा राष्ट्रपतिको सरकारी निवास सितल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्
मुलुक फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे।
पौडेलले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए।
जेनजी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुर्ननिर्माण अहिलेको मुख्य कार्यभार रहेको उनको भनाइ छ।
अबको ६ महिनाभित्रमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नसमेत उनले आग्रह गरे। राजनीतिक दल, मुलुकको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन उनको आह्वान छ।
यस्तो छ उनको भनाइ
हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने मेरो दृढ विश्वास छ। म आफैं पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रको लागि राजनीतिमा होमिएको थिएँ। परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीति अफ्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ। र सबैको सुझबुझ र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ।
लोकतन्त्र र संविधानको भावना ,नवपुस्ताको परिवर्तनको सपना र जनचाहानाअनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो हामीले गरेका छौं। मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ। नयाँ जनादेश ले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ। अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुर्ननिर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ। यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो।
प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले यो कदम चालिएको कुरा सबैले बुझौं। र ६ महिनाभित्र प्रतिनिधि सभा ल्याउने चुनाव सम्पन्न गर्न सबै लागौं। यो घडीमा म सबै राजनीतिक दल मुुलुकको शासन तथा व्यवस्थापनमा आवद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व होइन पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशिल हुन आह्वान गर्दछु।
Shares

प्रतिक्रिया