राजनीति


सेनाको जवाफदेहीता, हिंसा र विध्वंशको गम्भीर छानबिनको आवश्यकता छ: पुरञ्जन आचार्य

सेनाको जवाफदेहीता, हिंसा र विध्वंशको गम्भीर छानबिनको आवश्यकता छ: पुरञ्जन आचार्य

नेपालखबर
असोज ८, २०८२ बुधबार १२:४६, काठमाडौँ

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अन्तरिम सरकारको मुख्य प्राथमिकतामा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्। भ्रष्टाचार नियन्त्रण र शान्ति पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि बताए।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आचार्यले प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख जिम्मेवारी निर्वाचनको तयारी, सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नु रहेको उल्लेख गरे। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वलाई संवैधानिक र सर्वस्वीकार्य मान्दै उनले युवा पुस्ताको स्वतःस्फुर्त आन्दोलनले लोकतन्त्रलाई बलियो बनाएको दाबी गरे। साथै सेनाको जवाफदेहीता र हिंसाको विश्लेषणमा गम्भीर छानबिनको आवश्यकता रहेको बताए।

भ्रष्टाचारविरुद्ध स्वतन्त्र आयोग गठनको आवश्यकता
विश्लेषक आचार्यले जेन-जी आन्दोलनको मुख्य एजेन्डा भ्रष्टाचारविरुद्धको लडाई रहेको र यो आन्दोलनले निर्वाचनको वातावरण बनाएको बताए। उनले सरकारले भ्रष्टाचार, आर्थिक अपराध, पदको दुरुपयोग र अकुत सम्पत्तिको छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्नेमा जोड दिए। उनकाअनुसार यस्ता आयोगहरू निष्पक्ष र बदलाको भावनाबाट मुक्त हुनुपर्छ।

उनले राजनीतिज्ञ, कर्मचारी, संवैधानिक निकाय, सुरक्षा निकाय र न्यायालयका उच्च पदस्थ व्यक्तिहरूको सम्पती र आर्थिक स्रोतको पारदर्शिताका लागि पनि छानबिन आवश्यक रहेको बताए। (सरकारले आन्दोलनका क्रममा भएका हिंसा आगजनी तोडफोडबारे न्यायिक आयोग बनाइसकेको छ, यो अन्तर्वार्ता सरकारको निर्णय पहिला नै रेकर्ड गरिएको हो।)

निर्वाचन र गृह प्रशासनको तयारी
आचार्यले अन्तरिम सरकारले सबै राजनीतिक दलको सहमति र विश्वासमा निर्वाचन गराउनुपर्नेमा जोड दिए। आन्दोलनका कारण सुरक्षाकर्मीको मनोबल खस्किएको उल्लेख गर्दै उनले गृह प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी संयन्त्रको पुनर्संरचना गरी निर्वाचनको तयारी गर्नुपर्ने बताए। 

सुशीला कार्कीको नियुक्ति संवैधानिक छ 
कतिपयले अन्तरिम सरकार र प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई गैरसंवैधानिक भने पनि आचार्यले यो संविधानको सीमाभित्रै रहेको दाबी गरे। जेन-जी आन्दोलनपछिको संकट पूर्ण अवस्थामा राष्ट्रपतिले संविधानको मर्म जोगाउन ‘सीमित सम्भाव्यताको प्रयोग’ गरेको उनको भनाइ छ। 

सेनाले आफूमाथि लागेको आरोपबारे बोल्नुपर्छ 
आचार्यले आन्दोलनका क्रममा लोकतन्त्र धरापमा पर्ने अवस्था सिर्जना भएको र नेपाली सेनाले सत्ता कब्जा गर्न खोजेको भन्ने चर्चा बाहिर आएको उल्लेख गरे। यस्ता आरोपमा सेनाले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। 

उनले सेनाले सत्ता कब्जा गरेको भए लोकतन्त्र र स्वतन्त्रता समाप्त हुने खतरा रहेको बताउँदै युवा पुस्ताले यस्तो अवस्थालाई स्वीकार नगर्ने उल्लेख गरे। 

सुशीला कार्कीलाई राजनैतिक दलहरूको सहमति छ 
आचार्यले सुशीला कार्कीलाई जेन-जी आन्दोलनको रोजाइ र राजनीतिक दलहरूको सहमतिमा प्रधानमन्त्री बनाइएको बताए। राष्ट्रपति कार्यालय, नेपाली सेना र राजनीतिक दलहरूको सहमतिमा अन्तरिम सरकार गठन भएको उनको दाबी छ। 
 

हिंसा र सम्पत्ति क्षतिको गहन अध्ययन हुनुपर्छ 
आन्दोलनमा भएको हिंसा र सार्वजनिक सम्पत्तिको क्षतिलाई आचार्यले अस्वीकार्य बताए। सिंहदरबार र संसद भवनजस्ता संरचनामाथिको आक्रमण गम्भीर भएपनि यसको नियत र सन्दर्भ अध्ययन गर्नुपर्ने उनको भनाइ छ। 

आन्दोलनमा विदेशी हस्तक्षेप छैन 
आन्दोलनमा विदेशी हस्तक्षेपको आरोपलाई आचार्यले खारेज गरे। देशभित्रकै आन्तरिक कमजोरी र असन्तुष्टि नै आन्दोलनको जड रहेको उनको दाबी छ।​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad