प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदन विघटनको विषयमा दलका नेतासँग छलफल गर्ने भएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि जान सभामुखलाई कानुनविद्, दलका नेताहरूले सुझाव दिएका छन्। उनले आफैँ रिट निवेदन लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलसँग छलफल गर्न लागेका हुन्।
घिमिरेले बुधबार बिहान ९ बजे विघटित प्रतिनिधिसभाका दलका प्रमुख सचेतकसँग छलफल गर्ने भएका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायतका राजनीतिक दलका प्रमुख सचेतकलाई बोलाइएको छ।
प्रतिनिधि सभा ब्युँताउन तीन ठूला दल साथ लिएर सर्वोच्च जाने योजनामा सभामुख घिमिरे
'सभामुखले भोलि (बुधबार) बिहान ९ बजेका लागि बैठक बोलाउनु भएको छ,'माओवादीका निवर्तमान प्रमुख सचेतक हितराज पाण्डेले नेपालखबरसँग भने।
भदौ २३, २४ गतेको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बनेको छ।
उक्त सरकारले सोही दिन प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। राष्ट्रपतिले उक्त सिफारिसलाई टेकेर सदन विघटन गरेका थिए। सदन विघटन गरी राष्ट्रपतिले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको चुनाव तोकेका छन्।
Shares

प्रतिक्रिया