प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छिन्।
नेपाल संवत् नयाँ वर्ष ११४६ को स्वागत कार्यक्रममा वसन्तपुरमा बोल्दै प्रधानमन्त्री कार्कीले आन्दोलनपछि बनेको नागरिक सरकार निर्वाचनको तयारीमा दत्तचित्त भएर लागेको बताइन्।
‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ,’ उनले भनिन्, ‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ।’
प्रधानमन्त्रीले सरकारले राजनीतिक दलहरूसँग निरन्तर संवाद गर्दै निर्वाचनको तयारी अघि बढाइरहेको पनि बताइन्। कार्कीले भनिन्, ‘प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ। परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ।’
उनले निर्वाचनलाई प्राथमिकता दिइएको भए पनि सुशासन र भ्रष्टाचारविरुद्धको अभियान रोकिएको छैन भन्ने स्पष्ट पारिन्। ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने होइन। नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो।
प्रधानमन्त्रीले समाजका सबै पक्षको सहकार्य र नागरिक सचेतताका साथ लोकतन्त्रलाई सुदृढ बनाउने आह्वान पनि गरिन्। ‘आउनुहोस्, यसमा सहकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ। समाजमा सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौँ,’ उनले भनिन्।
Shares

प्रतिक्रिया