राजनीति


संसद् पुनर्स्थापनाको सर्त राखेपछि एमालेलाई जेनजीले दिए फेरि लड्न चुनौती

चारतिर फर्केका जेनजीलाई एउटै बनाउने प्रयास
संसद् पुनर्स्थापनाको सर्त राखेपछि एमालेलाई जेनजीले दिए फेरि लड्न चुनौती

आयुषा ढकाल
कात्तिक १३, २०८२ बिहिबार १८:२३, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बालुवाटारमा आयोजना गरेको त्रिपक्षीय बैठकमा नेकपा एमालेले संसद् पुनर्स्थापना हुनुपर्ने बताएपछि एमाले र जेनजी प्रतिनिधिबीच ठाकठुक पर्‍यो।

५ घण्टा चलेको बैठकमा सरकार पक्ष,  १४ जना जेनजी प्रतिनिधि र विभिन्‍न राजनीतिक दलका नेताहरू उपस्थित थिए। एमालेबाट  महेश बर्तौला र क्षितिज थेबे सहभागी थिए।

उनीहरूले जेनजीको माग पूरा गर्न पनि संसद् पुनर्स्थापना हुनुपर्ने बताएका थिए। तर, जेनजी प्रतिनिधिले त्यसको कडा प्रतिवाद गरेका थिए।

‘तपाईंहरूले आजको दिनमा आएर यदि फेरि पनि पुरानै संसदलाई पुनर्स्थापना गर्ने र ती हत्याराहरूलाई अगाडि ल्याएर हाम्रो माग पूरा हुन्छ भन्ने कुरा गर्नुहुन्छ भने खबरदार तपाइहरूलाई! यो कुरा हामी हुन दिने छैनौँ,’ सुदन गुरुङ निकट जेनजी प्रतिनिधि जेम्स कार्कीले भनेका थिए।

'एमालेको तर्फबाट एकदम म्यानुपुलेटिभ कुरा आयो। उनीहरूले हालको सरकार जेनजीका माग सम्बोधन गर्न लायक नभएको बताउँदै सुशीला कार्कीको सरकारले चुनाव गराउन पनि नसक्ने दाबी गरे,' कार्की भन्छन्, 'दलहरूसँग हिजो आन्दोलन गर्दा पनि नडराएको, आज पनि डर नमानेको र भोलि फेरि पनि लड्नु पर्‍यो भने पनि नडराउने कुरा हामीले राख्यौँ।'

छलफलमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी, रास्वपा लगायत अन्य दलहरूले भने चुनाव लडेर अगाडि बढ्न तयार भएको बताएका थिए।

छलफलमा जेनजी प्रतिनिधिहरूले भ्रष्टचारी र जेनजी आन्दोलनका दोषीहरूलाई नियन्त्रणमा लिएर सबै कुरा छनबिन नगरुञ्जेल चुनावको लागि प्रक्रिया अगाडि नबढाउन र उनीहरूलाई चुनावमा भाग लिन नदिन सरकारलाई आग्रह समेत गरेका छन्।

आफूहरू दलको विरुद्धमा नभएर भ्रष्टचारको विरुद्धमा भएको उनीहरूको भनाइ थियो।

मिराजलाई उपार्जुनको जवाफ- संविधानभित्र सम्भव नभएको कुरा जेनजीको माग होइन
सबै जेनजीहरूले चुनावलाई कसरी सफल बनाउने भन्ने कुरा राख्दै गर्दा मिराज ढुङ्गानाले भने 'प्रत्यक्ष कार्यकारी नभइन्जेल कसरी चुनावमा जाने?' भनेर प्रश्न गरे। तर छलफलमा संलग्न कुनै पनि जेनजीले प्रत्यक्ष कार्यकारी तुरुन्त हुनुपर्ने मागमा समर्थन नजनाएको छलफलमा संलग्नहरू बताउँछन्।

ढुंगानाले सुरुदेखि नै प्रत्यक्ष कार्यकारी निर्वाचनको माग गर्दै त्यसो नभएसम्म चुनावका जान नसकिने बताउँदै आएका छन्।

तर सोही छलफलमा संलग्न अर्का जेनजी प्रतिनिधि उपार्जुन राईले मिराज ढुंगानाको कुरालाई खण्डन गर्दै जेनजीका मागहरूका लागि संविधान बाधा नभएको हुँदा संविधान खारेज जरुरी नभएको बताए।

उनले जेनजी हिजो सडकमा जाँदै गर्दा जति पनि म्यान्डेटहरू थिए ती हालको संविधानबाट नै पूरा हुने हुनाले संविधान खारेज गर्ने किसिमका कुरा नगर्न ढुङ्गानालाई भनेका थिए।

राईले भनेका थिए, 'संविधान ढाल्नको लागि नभएर संविधानको वास्तविक कार्यान्वयनका लागि हामी सडकमा गएका हौँ; त्यसले गर्दा जतिपनि मुद्दा साथीले राख्‍नु भयो, जुन संविधानभित्र सम्भव भएन, त्यो कुरा जेनजीको माग होइन।'

'जेनजीको बटमलाइन प्रत्यक्ष कार्यकारी निर्वाचन, संविधान खारेजी' जस्ता हेडलाइन मिडियामा बन्नु ७६ जना सहिदमाथिको अर्को अपराध भएको राईको भनाइ थियो।

'मिराज अरु कसैले रेकर्ड गरेर पठाएको कुरा बोल्छन्,' राईले नेपालखबरसँग भने, 'उनको यस्तो कदमबाट पब्लिकमा चाहिँ जेनजीबीच नै फुट रहेछ भन्ने पर्छ। तर, जेनजी उनको मुद्दाको पक्षमा छैनन्।'

जेनजीबीच समन्वयको प्रयास
छलफलमा फरक-फरक समूहबाट जेनजी प्रतिनिधिहरू आए तापनि एउटै टेबलमा बसेर कुराकानी गर्दा प्रत्यक्ष कार्यकारीबाहेक अरु सबै माग र उद्देश्य एउटै पाइएको जेम्स बताउँछन्।

उनी भन्छन्, ‘एउटै टेबलमा बसेर सबै जनाले बोलेको देख्दा कताकताबाट खोला बगे पनि एउटै समुन्द्रमा गएर मिसिएको जस्तो महसुस भएको छ।’

उसो त अनेक समूह र मुद्दामा विभाजित एउटै धारमा उभ्याउने कोसिस भइरहेको जेनजी अगुवाहरूको भनाइ छ। त्यसको पहल लिइदिन उनीहरूले प्रधानमन्त्री कार्कीलाई समेत आग्रह गरेका थिए।

छलफलमा आएका दलले पनि यी जेनजी प्रतिनिधिहरू फरक-फरक समूहबाट आएका हुन् भनेर छुट्याउन नसकिने बताएको उनको भनाइ छ।

छलफलपछि सबै जेनजी एक हुने सम्भावना धेरै रहेको जेनजी प्रतिनिधि पुरुषोत्तम यादव र जेम्स कार्कीको भनाइ छ।

जेम्सले भने, ‘जेनजी आज जतिवटा समूहमा बाँडिए पनि सबैको उद्देश्य र माग एउटै भएको हुनाले भोलिका दिनमा हामीले बलियो आधार बनाएर सबै जना एकै ठाउँमा आएर, एक आवाज र एकजुट भएर अगाडि बढ्नमा कुनै पनि आपत्ति हुँदैन।’

जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले बुधबारको छलफलका केहीबाहेक सबै कुरा सकारात्मक रहेको बताउँछन्।

'जेनजी आन्दोलन संस्थागत भएको छ। घाइते र सहिद परिवारको आयोग बनाएर उनीहरूलाई रोजगारी दिने कुरा पनि छलफलमा चलेकोछ,' उनले भने, 'प्रधानमन्‍त्री सुशीला कार्की तोकिएको मितिमा चुनाव गराउने कुरामा प्रतिबद्ध हुनुहुन्छ।'

प्रधानमन्त्री कार्कीले जेनजीले उठाएको आवाजका कारण आज आफूहरू सरकारमा भएको र जेनजीका माग र प्रस्तावहरूलाई प्राथमिकतामा राख्‍नु पर्छ भन्‍ने कुरामा पनि प्रष्‍ट भएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad