नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन्।
बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उनको धारणा छ।
उनले जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि घुसपैठ भएका कारण देश दोहन हुन पुगेको पनि बताए।
उनले भने, ‘नेपालको लागि हिंसा र विध्वंश एउटा नियमित आकस्मिकता जस्तो भयो। १० वर्षको पीडा २० वर्ष अगाडि मात्रै टुंगिएको हो। अहिले पनि त्यसको उत्पादन समाजमा छ। जेनजी युवाहरूले एउटा फूल पनि भाँच्दैनौं, प्रहरीसँग वादविवाद गर्दैनौं भनेर आन्दोलन सुरु गर्नुभएको थियो। तर २३ गतेको हिंसा र २४ भदौको देश दोहानलाई परिवर्तन ठानेर त्यसको महिमामण्डन गर्नुपर्छ भन्ने म विल्कुलै ठान्दिनँ।’
उनले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको नजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गरे।
२०४६ साल यताका भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न ज्ञवालीले वर्तमान सरकारलाई चुनौती पनि दिए।
Shares

प्रतिक्रिया