केही दिनयता जेनजीहरूसँग असन्तुष्ट एउटा समूह निकै सक्रिय छ। उनीहरू कहिले प्रधानमन्त्री निवासमा खिचोला गर्छन्, कहिले खेलकुद मन्त्रालयमा कुटाकुट गर्छन्।
उनीहरू अभिव्यक्ति पनि उग्र हुने गर्छ। ‘प्रधानमन्त्री सुशीला कार्कीको सरकार ढाल्नुपर्छ’, ‘अब फेरि हामी आन्दोलन गर्छौँ’ भन्दै हिँड्ने त्यो समूहका मुख्य व्यक्ति हुन् जितेन्द्रकुमार महतो पर्छन्।
महतो बुधबार (मंसिर २५ गते) जेनजी आन्दोलन संस्थागत गर्न भएको सम्झौताप्रति पनि सन्तुष्ट थिएनन्। महतो लगायतका केही युवाले प्रधानमन्त्री कार्यालयमा हस्ताक्षरलगत्तै सम्झौता च्यातेका थिए।
बिहीबार पनि मिराज ढुङ्गाना र महतोको समूह सिंहदरबार बाहिर प्रदर्शन गर्न पुगेको थियो।
जेनजी आन्दोलनको सम्झौताको मसौदा सरकारको चाकरी गर्नेहरूले बनाएको र अन्तिम अवस्थामा हस्ताक्षर गर्ने बेलामा मात्र आफूहरूलाई बोलाएकोले सम्झौताको विरोध गरेको महतोले नेपालखबरलाई बताए।
‘यस सम्झौतामा प्रधानमन्त्रीको स्वार्थ देखिएको हुनाले हामी असन्तुष्टि व्यक्त गरेका हौँ,’ नेपालखबर ‘तत्कालै’मा महतोले भने, ‘यो सम्झौता धोका हो।’

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संविधान संशोधन र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र आफ्ना मुख्य माग रहेको उनले बताए।
‘सर्वपक्षीय सम्झौता गराएर सांसद पुनर्स्थापना गरी संविधान संशोधन गर्नुपर्छ। हालको सम्झौतालाई पछि अरुले मान्दैनन्,’ उनी भन्छन्।
अहिले ठूलो रकम खर्च हुने हुनाले निर्वाचन दुई वर्षपछि गर्नुपर्ने उनको भनाइ छ।
‘सुदन गुरुङ लगायतका व्यक्तिहरूले जेनजी आन्दोलनलाई हाइज्याक गरे,’ उनले भने।
महतो केही समयअघि मात्र सुदनको समूहबाट अलग भएका हुन्।
सुशीला कार्कीको सरकार नढलेसम्म आफूहरू निरन्तर प्रदर्शन गर्ने महतो बताउँछन्।
जितेन्द्रले भने, ‘सरकारमा अब जेनजीकै अनुहार आउनु पर्छ।’
‘हामी अब एउटा ठूलो आन्दोलन गर्ने तयारीमा छौँ,’ महतोले भने, ‘पहिले केपी ओलीको सरकारलाई जस्तै गरी सुशीला कार्कीको सरकारलाई पनि हामी घेराउ गरेर लखेट्छौँ। प्रधानमन्त्री कार्कीलाई लखेटेपछि आन्दोलनबाटै देशले निकास पाउँछ।’
कार्की सरकार ढाल्नु मिराज र आफ्नो मुख्य योजना रहेको उनले बताए।
तत्कालैमा महतोसँगको कुराकानीको भिडिओ :
Shares

प्रतिक्रिया