राजनीति


श्रममन्त्री भण्डारीले मागे ‘एक्सन प्लान’, पुरानै पाराले काम गरे कारबाही गर्ने चेतावनी

कर्मचारीले तयार पारेको पहिलो निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गर्दै भण्डारीले भने- पुरानो झोला बिसाउनुस्, एक्सनमा जाने हो
श्रममन्त्री भण्डारीले मागे ‘एक्सन प्लान’, पुरानै पाराले काम गरे कारबाही गर्ने चेतावनी

उजिर कार्की
मंसिर २६, २०८२ शुक्रबार १९:३१, काठमाडौँ

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। मन्त्री बनेपछि पहिलो निर्णयका रुपमा मन्त्रालयका विभिन्न कामको अध्ययन गर्न कार्यदल गठन गर्ने र सुझाव पेश गर्ने भन्ने निर्णयमा हस्ताक्षरका लागि तयार गरिएको थियो। 

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नवनियुक्त मन्त्रीका लागि पहिलो निर्णयका रुपमा उक्त प्रस्तावको माइन्युट तयार पारेका थिए। सचिव पुष्करले ‘यहाँको चलन यस्तै छ’ भन्दै मन्त्रीलाई हस्ताक्षर गर्न आग्रह गरेका थिए। तर नवनियुक्त मन्त्री भण्डारीले त्यसलाई अस्वीकार गरे। 

मन्त्री भण्डारीले भने, ‘कार्यदल गठन गर्ने कुरा मन परेन। एक्सनको प्लान ल्याउनुस्। यो सम्बन्धी केही पनि सुझाव चाहिएन। मलाई तत्काल एक्सनको योजना ल्याउनुस्।’

मन्त्री भण्डारी यत्तिमै रोकिएनन्। उनले आफू विगतमा ३० वर्ष नेपाल प्रहरीमा काम गरेको र यहाँ पनि त्यही अनुसार नतिजा दिने गरी काम गर्ने बताए। उनले कर्मचारीलाई पुरानो पाराले कामकाजमा ढिलाइ नगर्न चेतावनी नै दिए। 

‘अब नयाँ जर्नीमा जाने हो। यहाँको सुद्धीकरण गर्नुपर्छ। पिल्ज ड्रप युयोर ब्यागेज’,  तपाईंहरूको पुरानो झोला बिसाउनुस्’, नवनियुक्त भण्डारीले बाक्लो रुपमा उपस्थित कर्मचारीलाई भने, ‘यदि अब तपाईहरू पुरानै पाराले काम गर्नुभयो भने कारबाहीमा पर्नसक्नुहुन्छ। म अनुसन्धानको क्षेत्रमा पनि काम गरेका हुनाले इन्टेलिजेन्स लगाएर भए पनि एक्सन मात्रै गर्ने हो। मलाई यो समिति सुझाव नभन्नुहोस्।’

श्रमिक ठगीका विषयमा प्रभावकारी रुपमा काम गर्न पनि उनले कर्मचारीलाई निर्देशन दिएका छन्। श्रमिक ठगीका विषय पहिचान गर्न र ‘स्पेशल टाक्स्फोर्स’ गठन गरेर कारबाही गर्ने योजना ल्याउन उनले निर्देशन दिएका छन्। 

यस्तै तेस्रो कार्यदेशका रुपमा मन्त्री भण्डारीले जेनजी र युवाको रोजगारीका लागि तत्काल कार्यान्वयन गर्न सकिने योजना ल्याउन भनेका छन्। ‘मलाई यो अप्रत्यासित रुपमा आएको जिम्मेवारी हो। मलाई फूलमाला पर्दैन, काम र नतिजा दिनुपर्छ’, भण्डारीले कर्मचारीलाई भने। 

सुशीला कार्की नेतृत्वको सरकारमा शुक्रबार चार मन्त्रीले सपथ लिएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का संस्थापक निर्देशक समेत रहेका भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इङनाम, वन तथा वातावरणमन्त्रीमा माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी श्रद्धा श्रेष्ठले पाएकी छन्। 

नवनियुक्त श्रममन्त्री भण्डारी द्वन्द्व व्यवस्थापनका विज्ञ मानिन्छन्। यस विषयमा उनले नेपाल प्रहरीमा कार्यरत रहँदा अमेरिका र बेलायतमा तालिम गरेका छन्। द्वन्द्व व्यवस्थापनमै विभिन्न देशमा काम गरेको अनुभव पनि उनीसँग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad