राजनीति


प्रचण्डलाई ‘सरप्राइज’ दिएको काठमाडौँ-१० यस पटक पनि कुर्दैछ कीर्तिपुरेको ‘चमत्कार’

प्रचण्डलाई ‘सरप्राइज’ दिएको काठमाडौँ-१० यस पटक पनि कुर्दैछ कीर्तिपुरेको ‘चमत्कार’

विपेन्द्र घिमिरे
माघ १८, २०८२ आइतबार २२:१४, काठमाडौँ

२०७० मा तत्कालीन नेकपा (माओवादी) अध्यक्ष प्रचण्डलाई हराएर चर्चामा आएका कांग्रेसका राजेन्द्रकुमार केसीले यो क्षेत्रमा लालकिल्ला मात्र तोडेनन्, त्यसपछि पनि लगातार दुई चुनाव जितेर ह्याट्रिक नै गरे। यसअघि २०१५ देखि नै यहाँ कांग्रेसले २०५६ बाहेक कुनै पनि चुनाव जितेको थिएन। त्यसैले कांग्रेसीहरू राजेन्द्र केसीलाई लालकिल्ला तोडेको जस दिन्छन्।

२०७०, २०७४ र २०७९ मा लगातार ३ पटक काठमाडौँ-१० बाट निर्वाचित केसीले यस पटक भने चुनाव नलड्ने घोषणा गरे। चाहेको भए सजिलै टिकट पाउँथे तर उनले आफूसहित संलग्न बोर्डबाट युवालाई टिकट दिने निर्णय गरे।

पटक-पटक अवसर पाइरहेको व्यक्ति सधैँ पदमा टाँसिइरहने हो भने युवामा निराशा जाग्छ, पुस्तान्तरण हुँदैन, त्यसैले आफैँले बाटो खोलिदिनु पर्छ भन्ने तर्क गर्छन् उनी।

केसीले खुला गरिदिएको बाटोमा यस पटक कांग्रेसले युवा उम्मेदवार हिमाल कार्कीलाई अघि सारेको छ। यस क्षेत्रमा पार्टीको संगठन बलियो बन्दै गएकोले कांग्रेसले सजिलै चुनाव जित्ने केसी दाबी गर्छन्। उनी भन्छन्, ‘यसअघि कांग्रेसको नेतृत्वमा भएका कामको मूल्यांकन गरेर काठमाडौँ-१० मा त जित निश्चित छ नै, देशभर नै कांग्रेसले जित्छ।’

काठमाडौँ-१० मा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको २ देखि ११ नम्बर वडा पर्दछन्।

२०७९ को चुनावमा यस क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस २८.२७, नेकपा (एमाले) २३.०५ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १७.०८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १३.६ र नेकपा (माओवादी केन्द्र) १०.२९ प्रतिशत मतसहित क्रमश: पहिलोदेखि पाँचौँ भएका थिए।

जसअनुसार कांग्रेसका राजेन्द्रकुमार केसीको १४ हजार ४६३, एमालेका हिमेश केसीको ११ हजार ७९१ र रास्वपाका प्रदीप विष्टले ८ हजार ७३९ मत प्राप्त गरेका थिए। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बलराम थापाको ६ हजार ९५९ र नेकपा (माओवादी केन्द्र)की अन्जना विशंखेको ५ हजार २६५ मत आएको थियो।

२०७४ को चुनावी नतिजा हेर्दा कांग्रेसको २४ हजार १९० मत आएको थियो भने माओवादी केन्द्र र एमालेको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारको २१ हजार ९०७ मत आएको थियो। यतिबेला रास्वपा जन्मेकै थिएन।

७४ र ७९ को नतिजालाई दाँजेर हेर्दा, ७९ मा एमाले-माओवादीको मत ७४ भन्दा झन्डै ५ हजार कम देखिन्छ भने कांग्रेसको झन्डै १० हजार कम। जबकि ७९ को चुनाव हुनुभन्दा ६ महिनाअघि मात्र जन्मेको रास्वपाको मत झन्डै ९ हजार आएको छ।

७९ मा तेस्रो बनेका प्रदीप विष्टलाई रास्वपाले यस पटक पनि दोहोर्‍याएको छ। आइतबार नेपालखबरले विष्टलाई सम्पर्क गर्दा उनी घरदैलोमा व्यस्त थिए। यो पटक आफ्नो क्षेत्रमा मात्र नभई देशैभर रास्वपाको लहर आउँदा अघिल्लो चुनावमा प्रत्यक्षतर्फ मतदाताको तेस्रो रोजाइमा परेको रास्वपालाई यस पटक काठमाडौँ-१० का जनताले भारी मतले विजयी गराउने विष्ट दाबी गर्छन्।

नेपालखबर टिम शनिबार मतदाताको आशय बुझ्न केही स्थानमा पुगेको थियो। कीर्तिपुरको पुरानो बस्तीका एक स्थानीय चुनावको कुरा सुन्नेबित्तिकै पर-पर भए। खेतमा काम गरिरहेका उनको मनसाय बुझ्न हामीले प्रश्न सोध्न नभ्याउँदै उनी बुरुक्क भइहाले।

‘चुनावमा भोट माग्न त आउँछ नि, मलाई यो चुनावको कुरै नगर है,’ उमेरले ६० कटेका लाग्ने उनले भने।

सोही क्षेत्रका अर्का मतदाता विकेश डंगोल भने यस पटक नयाँ दलप्रति आशावादी रहेको बताउँछन्। कीर्तिपुरमै निर्माण सामग्रीको व्यवसाय चलाउँदै आएका उनी पुराना दलको व्यवहारले वाक्क भइरहँदा केही गर्छु भनेर आएकाहरूलाई अवसर दिनुपर्ने धारणा राख्छन्।

‘हामीले यतिका वर्ष पुरानालाई हेरेकै हो, खुलम्‌खुला घुसखोरी पनि देखेकै हो,’ डंगोलले भने, ‘अहिले त त्यो परिस्थिति छैन नि, मान्छेहरू घुस खान डराउँछन्। यो त नयाँले ल्याएको परिवर्तन हो नि!’

काठमाडौँ-१० कै अर्का मतदाता अजित महर्जन चुनावी माहोलले छोपिनसकेको भए पनि रास्वपाको लहर आएको देख्दा छक्क छन्।

किराना व्यवसाय सञ्चालन गर्दै आएका महर्जन यस क्षेत्रकाका मतदाता चलायमान भएको विश्लेषण गर्छन्।

‘अहिलेको लहर हेर्दा यस पटक यहाँका मतदाताले नयाँलाई हेर्छन् कि जस्तो लाग्छ,’ महर्जन भन्छन्, ‘६४ मा पनि कीर्तिपुरेले माओवादी अध्यक्ष प्रचण्डलाई जिताए, फेरि उनै प्रचण्डलाई ७० मा हराइदिए।’

नेपालखबरले बसाइँ सरी आएका मतदाताको पनि धारणा बुझ्ने कोसिस गरेको थियो। चन्द्रागिरी नगरपालिकाका बासिन्दा शिवराम घिमिरे यस पालिकामा एमाले र नेकपाको राम्रै उपस्थिति देख्छन् भने कांग्रेसको बलियो देख्छन्। कांग्रेसले उठाएको उम्मेदवारले व्यक्तिगत भोट समेत तान्न सक्ने आकलन गर्ने उनी रास्वपाको प्रभाव भने खासै नरहेको बताउँछन्।

कीर्तिपुर-४ का बासिन्दा पिताम्बर बरालले आफ्नो थातथलो छोडेर आइसकेपछि लिगेसी छोडेर मतदाताले दलभन्दा पनि व्यक्ति हेर्ने बताए।

‘अहिले हामीलाई चाहिएको स्थायी सरकार हो,’ बराल भन्छन्, ‘भोट हाल्ने बेलासम्म जो शक्तिशाली देखिन्छ, मेरो समर्थन उतै हुन्छ।’

के भन्छन् उम्मेदवार?
उम्मेदवारहरूको भने आ-आफ्नै तर्क छ। नेकपा (एमाले)का उम्मेदवार विनोद श्रेष्ठ लामो समयदेखि काठमाडौँ-१० बाट संसद्‌मा एमालेको उपस्थिति नभएको अवस्थामा यहाँका जनताले एमालेको अभाव महसुस गरेकोले यस पटक आफूलाई जिताएर पठाउने बताउँछन्।

काठमाडौँ-१० का उम्मेदवारको सूची हेर्दा पनि जनताले आफूलाई ‘हेबिवेट’मा देखेर आफ्नो विजय सुनिश्चित जस्तै गरेको श्रेष्ठको दाबी छ। आफूलाई जातीय फ्याक्टरले पनि मद्दत गर्ने उनको तर्क छ।

‘सिंगो कीर्तिपुर, चन्द्रागिरिको थानकोट क्षेत्र र दक्षिणकालीको फर्पिङमा नेवारहरूको बाक्लो बस्ती भएको कारण अर्को प्लस पोइन्ट के छ भने भाषागत रूपमा पनि लामो समयदेखि नेवार उम्मेदवार परेन भन्ने गुनासो सुनिँदै आएको छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले यो पार्टी, ऊ पार्टी भन्नु भन्दा पनि एमालेको उम्मेदवारलाई जनताले आफ्नै भाषाभाषीको, आफ्नै क्षेत्रको, आफ्नै गाउँठाउँको भन्ने हिसाबले हेरिरहेका छन्।’

यसका अलावा मतदानको अन्तिम समयमा स्वतन्त्र मतदाताको मनस्थिति ‘जसले जित्छ, उसैलाई दिने’ भन्ने रहने हुँदा त्यस्ता मत आफ्नो पक्षमा आउने उनको दाबी छ।

यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रूपा महर्जन भने जातीय र स्थानीय/गैरस्थानीय फ्याक्टर अगाडि ल्याउनै नहुने तर्क गर्छिन्।

‘जातीय, स्थानीय/गैरस्थानीय कुरा त गर्ने नै होइन। जातीय अधिकारको कुरा हामीले संविधानमै संस्थागत गरिसक्यौँ, त्यसलाई कार्यान्वयन गरे पुग्छ,’ महर्जन भन्छिन्, ‘अब पनि स्थानीय र गैरस्थानीय भन्नेतिर लाग्ने हो भने १० नम्बरका जनता पछि पर्न सक्छौँ किनभने बाहिरबाट आउनेको संख्या बढिसकेको छ।’

जेनजी आन्दोलनपछि त्यतिबेला सत्तामा रहेका दल अप्ठेरो परिस्थितिमा रहेको र युवा नेतृत्वको लहर आइरहेको बेला यस क्षेत्रमा अन्य उम्मेदवारको तुलनामा आफू युवा भएकोले यहाँका मतदाताको रोजाइमा आफू पर्नेमा महर्जन ढुक्क देखिन्छिन्।

काठमाडौँ-१० मा १५ वटा राजनीतिक दलबाट १५ र स्वतन्त्र १० गरी २५ जना चुनावी प्रतिस्पर्धामा छन्। यसमध्ये प्रमुख चार दलका उम्मेदवारबीच महर्जन सबैभन्दा कान्छी उम्मेदवार हुन्।

रास्वपाका उम्मेदवार विष्ट पनि जातीय कुराले मतदाताको अपमान हुने बताउँछन्। ‘जातीयताकै कुरा गर्ने हो भने म आधा नेवार आधा क्षत्री हुँ तर म यस्तो कुरामा विश्वास गर्दिनँ। यो त मतदातालाई अपमान गर्ने कुरा हो,’ विष्ट भन्छन्, ‘आजको लोकतान्त्रिक/गणतान्त्रिक जमानामा यस्तो कुरा कसैले गर्छ जस्तो मलाई लाग्दैन, म त पटक्कै गर्दिनँ।’

आफू घरदैलोमा हिँड्दा यसपटक रास्वपालाई हो भोट भनेर धेरैले भन्ने गरेको बताउँदै विष्ट भन्छन्, ‘युवा मात्र होइन, घर-घरका छतबाट महिला, बुढाबुढीले हात हल्लाउँदै गरेको स्वागतले उत्साह थपेको छ।’ यसका साथै, आफू निर्वाचित भएमा १०० दिनभित्र गर्ने कामको सूची सार्वजनिक गरिसकेकोले मतदाताले आफूलाई विश्वास गर्ने उनी बताउँछन्।

यसैगरी, कांग्रेसका हिमाल कार्की भने जातीयताको खाल्डो आफूहरूले पूर्ण रूपमा पुरिसकेको दाबी गर्छन्। ‘म ५४ सालमा वडाध्यक्ष निर्वाचित हुँदादेखि र पछिल्ला संसदीय निर्वाचनले नै यी कुरा पुष्टि गरिसकेका छन्,’ कार्की भन्छन्, ‘म अहिले जहाँ उभिएको छु, उहाँहरूकै माया र भरोसाले उभिन पाएको छु। र, अर्को कुरा १० नं. क्षेत्रमा नेवार समुदायका अलावा तामाङ, मगर, ब्राह्मण, क्षत्री लगायत अन्य समुदायको पनि हुनुहुन्छ। यसका साथै, बाँकी ७६ जिल्लाबाट बसाइँ सरी आउनुभएकाको ठूलो जमात छ। त्यो बौद्धिक जमात हो। यी सबै समुदाय, वर्गलाई समेटेर लैजान सक्ने कांग्रेस हो भनेर यहाँका मतादाताले बुझिसक्नु भएको छ।’

बसाइँ सरेर आएको होस् वा यहीँको स्थानीय होस्, कीर्तिपुरवासीलाई कीर्तिपुर अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट, नि:शुल्क एम्बुलेन्स, नि:शुल्क शव वाहन, आर्थिक अवस्था कमजोरका कारण डाक्टर पढ्न नसकेकाहरूका लागि विभिन्न कलेजमा छात्रवृत्ति जस्ता काम कांग्रेसको नेतृत्वमा कीर्तिपुर नगरपालिकाले गर्नुले पनि यी कुरालाई पुष्टि गरेको कार्की प्रस्ट्याउँछन्।

चन्द्रागिरिका अधिकांश वडा, दक्षिणकाली र कीर्तिपुर नपा समेटिएको यस क्षेत्रको निर्णायक मतमा कीर्तिपुर पनि पर्दछ। कीर्तिपुरको इतिहास यस्तो छ कि यसले सधैँ ‘चमत्कार’मा विश्वास गर्छ। यसैले यदाकदा भन्ने पनि गरिन्छ– कीर्तिपुरेको मुड बुझ्नै सकिन्नँ, यसले त ‘चमत्कार’ गर्न जानेको छ।

हुन पनि दुई सय वर्षअघि पृथ्वीनारायण शाहलाई हराउनेदेखि माओवादी अध्यक्ष प्रचण्डलाई हराउने अनि तिनै पृथ्वीनारायण र प्रचण्ड अनि मदन भण्डारी जिताउने पनि कीर्तिपुर नै बन्न पुग्यो।

साथै, स्थानीय तहको चुनावलाई हेर्ने हो भने पनि कहिले एमालेलाई जिताउने त कहिले कांग्रेसलाई जिताउने पनि कीर्तिपुर नै बन्न पुगेको छ। यसैले कीर्तिपुरे मतदाताको मुड बुझ्न सजिलो पटक्कै नभएको स्वयं उम्मेदवारहरू नै स्वीकार्छन्।

प्रतिस्पर्धा क-कसको?
विगतका प्रतिनिधि सभा चुनाव र स्थानीय चुनावको परिणामलाई केलाउँदा यो क्षेत्रमा कांग्रेसको बलियो पकड रहेको छ। २०६४ को चुनावमा देशभरि तत्कालीन माओवादीको जनलहर आउँदा विजयी भएका अध्यक्ष प्रचण्ड ७० को चुनावमा तेस्रो स्थानमा खुम्चिए।

त्यसपछि लगातार तीन पटक जितेका कांग्रेसका राजेन्द्रकुमार केसीले यसपटक हिमाल कार्कीलाई अघि सारेका हुन्।

स्थानीय तहको अवस्था हेर्ने हो भने यस क्षेत्रभित्र पर्ने तीन वटै पालिकामा कांग्रेसले जितेको छ। कीर्तिपुर नगरपालिकामा अघिल्लो वर्ष भएको उपचुनावमा समेत कांग्रेस नै विजयी भयो।

७९ को आमचुनावमा प्रत्यक्षतर्फ कांग्रेस पहिलो, एमाले दोस्रो र रास्वपा तेस्रो शक्ति हुन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो, रास्वपा दोस्रो र एमाले तेस्रो शक्ति हुन्।

उम्मेदवारहरूको विवरण केलाउनु पर्दा, कांग्रेस उम्मेदवार कार्की नेविसंघको राजनीतिबाट उदाएका हुन्। ५६ सालमा वडाध्यक्ष निर्वाचितपछि उनले सार्वजनिक पदको अवसर पाएका छैनन्। ७९ मै प्रतिनिधि सभाको उम्मेदवारका आकांक्षी उनले त्यतिबेला टिकट पाएनन्, कीर्तिपुर नगरपालिकाका स्थानीय उनी गएको उपचुनावमा मेयरको आकांक्षी समेत देखिएका थिए। तर, यस पटक भने ५५ वर्षीय कार्कीले राजेन्द्र केसीकै सिफारिसमा टिकट पाएका छन्। केसी कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेका नेता हुन्।

यस्तै गएको निर्वाचनमा दोस्रो शक्ति बनेको एमालेले पनि यस पटक नयाँ अनुहार अगाडि सारेको छ। एमालेको पूर्वपोलिटब्युरो सदस्य विनोद श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा पहिलो पटक चुनाव लड्दै छन्। ६६ वर्षीय श्रेष्ठ एमालेका पुराना नेतामा पर्दछन्।

यस्तै, तेस्रो शक्तिका रूपमा देखिएको रास्वपाले भने अघिल्लो पटककै उम्मेदवारलाई दोहोर्‍याएको छ। समानुपातिकमा दोस्रो शक्तिमा उदाएको रास्वपा प्रदीप विष्टको नेतृत्वमा प्रत्यक्षतर्फ भने तेस्रो भएको थियो। ५१ वर्षीय विष्ट पनि कीर्तिपुर नगरपालिकाकै स्थानीय हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुपा महर्जनलाई अघि सारेको छ। चन्द्रागिरि नगरपालिकाकी स्थानीय महर्जन तत्कालीन माओवादी केन्द्रका नेता दिलिप महर्जनकी छोरी हुन्। महर्जनका पति माओवादी युद्धकालमा बेपत्ता भएका थिए। उनी संविधान सभा सदस्य समेत हुन्।

८३ हजार ३०१ मतदाता रहेको काठमाडौँ-१० मा प्रचण्डलाई हराएर ह्याट्रिक गरेका नेता राजेन्द्र केसीको विरासत जोगाउन कांग्रेस, छोटो समयमै प्रमुख दललाई पछ्याउँदै र उछिन्दै अघि बढेको रास्वपा, तोडिएको लालकिल्ला फर्काउने प्रयासमा एमाले र प्रचण्डको भत्किएको आधार इलाका पुन: लिने कोसिसमा नेकपा चुनावी प्रतिस्पर्धामा अगाडि देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad