धादिङ १ बाट रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङले निर्वाचनको दिन तस्बिर राख्दै फेसबुकमा लेखिन्: जीवनको पहिलो भोट।
उनी पहिलोपटक मतदान मात्र गर्दै थिइनन्। पहिलो पटक चुनाव पनि लड्दैथिइन्। र, पहिलो प्रयासमै उनले सानदार विजय हात पार्दै उनी संसदमा प्रवेश गर्न सफल भएकी छन्।
धादिङ १ बाट आशिका तामाङले भारी मतले जित हासिल गरेकी छिन्। पहिलोपटक उम्मेदवार बनेकी उनले एमालेका भूमी त्रिपाठी, कांग्रेसका कृष्ण रिजाल र नेकपाका राजेन्द्रप्रसाद पाण्डे जस्ता ठूला नेताहरूलाई पछि पारिन्।
सांसद चुनिए पनि आशिकाको पहिलो परिचय राजनीतिकर्मी होइन। उनी त सामाजिक अभियन्ताका रूपमा चिनिएकी हुन्। त्यसका अलावा अभिनयमा पनि उनको रुचि देखिन्छ।
धादिङको मलेखुमा जन्मे हुर्केकी आशिकालाई सानैदेखि हिरोइन बन्ने रहर थियो। त्यही रहर उनले फिल्म ‘सुश्री’ मा पूरा गरिन्। आर्यन सिग्देलसँग जोडी बाँधेकी उनले यस फिल्मबाट सफलता भने पाउन सकिनन्।
त्यो फिल्म उनको ‘आशिका फिल्म्स प्रालि’कै ब्यानरबाट बनेको थियो। २०७२ साल कात्तिकतिर रिलिज भएको फिल्म बक्सअफिसमा फ्लप भयो।
हौस्सिएर फिल्म बनाएकी आशिकाले लगानी डुबाएपछि दोस्रो फिल्म बनाउने आँट गरिनन्। बरु जमर्नीतिरै फर्किइन्। जर्मन नागरिकसँग बिहे गरेकी आशिकाको एक छोरा समेत छन्।
अभिनयमा नचले पनि सामाजिक सञ्जालले अचानक उनलाई चर्चित बनाइदियो। २०७५ सालताका दसैँको आउँदै थियो। सोहीबेला आशिकाले बनाएको एउटा भिडिओ एकाएक भाइरल भयो।
खासमा दसैँको माहोलमा जर्मनीमा रहेकी आशिकाले मासुको लागि जनावरको हत्या नगर्न आग्रह गर्दै भिडिओ बनाएकी थिइन्।
‘मासु खानुहोस्, तर खसीखसिनी नमार्नुहोला। मारे पनि घरवारविहीनलाई मात्र मार्नुहोला,’आशिकाले रुँदै भनेकी थिइन्।
चार मिनेट लामो भिडिओ सामाजिक सञ्जालमा निकै छायो। यतिसम्म कि आशिकालाई ‘खसिनी’ भनेर निकै ट्रोल समेत गरियो। उनी यति चर्चित भइन्, जनताले उनले फिल्म खेलेको कुरा समेत थाहा पाए।
पशुवध नगर्न आग्रह गरे पनि आशिका शाकाहारी भने थिइनन्। जसकारण सोसल मिडिया प्रयोगकर्ताले उनले मासु खाएको फोटो/भिडिओ खोज्दै मिम बनाउँदै खुबै उडाए सर्वव्यापी आलोचना भएपछि उनले माफी मागेकी थिइन्।
प्रहरी चौकीदेखि रियल नायिकासम्म
२०८१ मा सात वर्षपछि आशिका पुन: चर्चामा आइन्। १५ वर्ष जर्मनीमा बसेर फर्किएकी उनले नेपालको सरकारी निकायदेखि सार्वजनिक स्थानमा भइरहेको आर्थिक बेथिति र अत्याचारको विषयमा आवाज उठाउन थालिन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्कमा सर्वसाधारणमाथि भइरहेको अत्याचारको विषयमा बोलिन्। जसबाट आशिकाले धेरैको ध्यान खिचिन्। उक्त चर्चाले उनको हौसला झनै बढ्न थाल्यो। त्यसपछि उनी बाटोदेखि पसल, होटल र सार्वजनिक ठाउँमा हुने बेतिथिविरुद्ध बोल्दै सामाजिक सञ्जालमा हाल्न थालिन्।
यतिसम्म कि आशिकाले खुलाक्षेत्रमा पिसाब गर्नेलाई समेत छोडिनन्। आशिकाले काठमाडौंमा पुलमुनि शौच गरिरहेका युवकलाई सार्वजनिक स्थलमा पिसाब गरेको भन्दै थर्काएर भिडिओ बनाइन्। जुन भिडिओ इन्टरनेटमा निकै भाइरल भयो।
उनको कदमको तारिफ भएपनि प्रस्तुति शैलिलाई लिएर भने प्रश्न उठ्न थाल्यो। कतिपयले चर्चा कमाउन यस्तो गरेको भन्दै आशिकाको आलोचना गरे। एकपटक त उनी आफ्नो व्यवहारको कारण प्रहरी चौकीसम्म पुगेकी थिइन्।
गतवर्ष माघताका भक्तपुरको सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गरी अराजक गतिविधि गरेको भन्दै उजुरी हाल्यो। उजुरीपछि आशिकालाई प्रकाउ समेत गरिएको थियो।
खासमा नगरपालिकाको वडा नम्बर ९ र १० को सिमानामा रहेको झोलुङ्गे पुल चढेबाफत सर्वसाधारणसँग पैसा लिएको भन्दै आशिकाले विरोध जनाइन्। उनले टिकट प्याडमा आगो लगाइदिएकी थिइन्। अभद्र व्यवहार गरेको आरोपमा माघ २ गते उनी प्रकाउ परेकी थिइन्। अनुसन्धानपछि धरौटीमा आशिका रिहा भएकी थिइन्।
जेनजी आन्दोलनले फेरिदिएको परिचय
जेनजी आन्दोलनसँगै आशिका जनतामाझ प्रिय पात्र बनिन्। उनका अराजक क्रियाकलापलाई मजाक गर्नेहरू पनि एकाएक उनका फ्यान भए। जेनजी प्रदर्शनको सुरुवातदेखि अन्त्यसम्म आशिकाले रचनात्मक भूमिका खेलिन्।
जेनजी आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगेकी उनले प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैलाई पानी, बिस्कुट दिने काम गरिन्। र, आन्दोलनपछि बेसहारा भएका घाइतेहरूको सहारा बनिन्। अस्पतालको बेडमा पल्टिएका जेनजी घाइतेहरूलाई खाना र पानी लिएर पुगिन्।
अस्पतालमा उनले घाइतेको स्याहारसुसारदेखि आर्थिक सहयोग गरिन्। डिस्चार्ज भएका घाइतेहरू बस्ने डेरासम्म पुगेर खाद्यन्न, लत्ताकपडा र उपचार खर्च बाँडिन्। घाइतेहरूलाई उनीले ढाडस दिइन्: 'चिन्ता नलिनू। तिम्रो दिदी म छु। जे आवश्यक पर्छ, मलाई फोन गर्नू।'
त्यो भिडिओ सार्वजनिक भएसँगै नेपाली युवाहरूले उनलाई दिदी भनेर सम्बोधन गर्न थाले। जसले एकैपटक उनी सारा नेपालीहरूको मनमा बसिन्। त्यही नि:स्वार्थ सहयोग र सक्रियताले रिलकी नायिका एकाएक रियलमै नायिका बनिन्। आफन्त नपुगेको अवस्थामा अस्पताल-अस्पताल पुगेकी आशिका प्रशंसाको पात्र बन्न पुगिन्।
त्यही लोकप्रियताका कारण रास्वपाको नजरमा परिन् आशिका। सुरुमा उनलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले समानुपातिकको लागि अफर गरेका थिए। तर, उनले समानुपातिक टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै अफर स्वीकार गरिनन्। बरु दलगतभन्दा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिन्।
अन्त्यमा आशिका रास्वपाबाटै गृहजिल्ला धादिङ १ बाट उम्मेदवार बनिन्। र, सामाजिक अभियन्ताको उनको यात्रा राजनीतितर्फ मोडियो। राजनीतिमा आउनुअघि मात्र होइन, उम्मेदवार बनेपछि पनि आशिका लाइमलाइटमा रहिन्। कहिले कुखुरालाई भोट माग्दै उनी सामाजिक सञ्जालमा भाइरल भइन् त कहिले बोली चिप्लिएर आलोचित बनिन्।
चुनावको संघारमा धादिङमा रवि लामिछानेलाई स्वागत गर्ने कार्यक्रम थियो। जहाँ स्वागत मन्तव्य पढ्दा तामाङको जिब्रो चिप्लियो। उनले भनिन्, ‘म धादिङमा सुशासन स्थापना गरी, भ्रष्टाचार गर्न आएकी हुँ।’
जिब्रो चिप्लिएको महसुस भएपछि छेउमै रहेका रविले तुरुन्तै सच्याउँदै आशिका भ्रष्टाचार रोक्न र जिल्लाको विकासको लागि आएको भनेका थिए। तर, त्यो भिडिओ सामाजिक सञ्जालभरि भाइरल भयो। आशिकालाई फेरि उडाइयो।
सामाजिक सञ्जालमा उडाइए पनि मतदाताले उनलाई पत्याए र पर्याप्त भोट दिए। उनको यो राजनीतिक इनिङ्स कस्तो हुन्छ, अहिले नै भन्न मुस्किल छ। तर, एउटा कुरा अवश्य भन्न सकिन्छ, उनी चर्चाबाट टाढा रहने छैनन्।
Shares

प्रतिक्रिया