राजनीति


७८ वर्षीय अर्जुन नरसिंह केसीले गराउनेछन् सांसदलाई शपथ

७८ वर्षीय अर्जुन नरसिंह केसीले गराउनेछन् सांसदलाई शपथ

नेपालखबर
चैत ३, २०८२ मंगलबार १३:४, काठमाडौँ

निर्वाचन आयोगले अन्तिम प्रतिवेदन बुझाएसँगै नव निर्वाचित सांसदहरूको शपथ ग्रहणको तयारी भएको छ। 

प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले सदनको कामकारबाहीमा भाग लिनुअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ।नेपालको संविधान र प्रतिनिधि सभा नियमावलीमा शपथ र ज्येष्ठ सदस्यको भूमिकाबारे स्पष्ट व्यवस्था गरिएको छ।

यसपटकको प्रतिनिधि सभामा उपलब्ध तथ्याङ्कअनुसार, सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी हुन्। ७८ वर्षीय केसीले नै अन्य सांसदलाई शपथ गराउने छन्। संसदीय परम्पराअनुसार, ज्येष्ठ सदस्यलाई पहिले राष्ट्रपतिले शपथ गराउनेछन्। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सबै सांसदलाई शपथ गराउनेछन्।

संविधानको धारा ८८ अनुसार संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ। धारा ९१ (५) अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ।

शपथ सम्बन्धी ऐन, २०७९ ः यस ऐन र संसदीय व्यवस्था अनुसार, सभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले नै सदस्यहरूलाई शपथ गराउने जिम्मेवारी पाउँछन्। नयाँ सभामुख र उपसभामुखको चयन नभएसम्म अर्जुन नरसिंह केसीले नै सदनको बैठक सञ्चालन गर्नेछन्। ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ। सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो विशेष जिम्मेवारी समाप्त हुनेछ।

निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिए पनि सांसदहरूले ‘जनप्रतिनिधि’को पूर्ण अधिकार शपथ लिएपछि मात्र पाउँछन्। शपथ नलिई कुनै पनि सांसद सदनको बैठकमा प्रवेश गर्न, मतदान गर्न वा संसदीय समितिहरूमा सहभागी हुन पाउँदैनन्।

निर्वाचन आयोगले प्रत्यक्ष १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भइसकेको घोषणा गरिसकेको छ। आयोगले बिहीबार बिहान साढे ११ बजे समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ। 

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सांसद पाएको छ। तर रास्वपामा ६० वर्ष माथिका तीन सांसद प्रत्यक्षमा र एक सांसद समानुपातिकमा छन्। उनीहरू सबै केसीभन्दा कान्छा हुन्।  

कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट पाएको छ। तीमध्ये ५ जना प्रत्यक्षतर्फ र ५ जना नै समानुपातिकतर्फ ६० वर्ष माथिका छन्। 

एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट पाएको छ। तीमध्ये ६ जना समानुपातिक र २ जना प्रत्यक्षतर्फका सांसद ६० वर्षभन्दा माथिको उमेरका छन्। ८ सिट प्रत्यक्ष र ९ सिट समानुपातिकमा जितेको नेकपाका पनि ५ जना सांसद ६० माथिका छन्। तीमध्ये २ जना प्रत्यक्ष र ३ जना समानुपातिकतर्फ निर्वाचित हुन्। 

७ सिट जितेको श्रम संस्कृति पार्टीबाट र ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि एक एक जना सांसद ६० वर्षभन्दा बढि उमेरका छन्। यस्तै स्वतन्त्र निर्वाचित सांसद महावीर पुन पनि ७१ वर्षका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad