राजनीति


नेपाल–अमेरिका सम्बन्धको ६ दशक : पिसकोरको २११औँ समूहले सुरु गर्‍यो दुई वर्षे सेवा

नेपाल–अमेरिका सम्बन्धको ६ दशक : पिसकोरको २११औँ समूहले सुरु गर्‍यो दुई वर्षे सेवा

नेपालखबर
चैत १२, २०८२ बिहिबार १७:२७, काठमाडौँ

नेपाल र अमेरिकाबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ ५१ जना अमेरिकी पिसकोर स्वयंसेवकको नयाँ टोलीले आफ्नो दुई वर्षे सेवा औपचारिक रूपमा सुरु गरेको छ। सन् १९६२ मा दुई देशबीच भएको सम्झौतायता नेपाल आउने यो पिसकोर स्वयंसेवकहरूको २११औँ समूह हो।

काठमाडौँमा आयोजित एक विशेष समारोहमा कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बम र पिसकोर नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथले नयाँ स्वयंसेवकहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सन् २०२६ को जनवरीमा नेपाल आइपुगेका यी स्वयंसेवकहरूले काभ्रेमा ९ हप्ताको कडा भाषिक, प्राविधिक र अन्तरसांस्कृतिक तालिम पूरा गरिसकेका छन्।

तालिमपश्चात् यी स्वयंसेवकहरू गण्डकी, बागमती र लुम्बिनी प्रदेशका १० जिल्लामा खटिनेछन्। उनीहरूले शिक्षा, कृषि र वन मन्त्रालयसँगको प्रत्यक्ष समन्वयमा स्थानीय समुदायसँग मिलेर काम गर्ने कार्यसूची छ। विशेषगरी सरकारी विद्यालयमा अंग्रेजी शिक्षण, खाद्य सुरक्षा, पोषण र वातावरणीय संरक्षणका क्षेत्रमा उनीहरूले योगदान दिनेछन्।

शपथ ग्रहण समारोहमा कार्यवाहक राजदूत अर्बमले पूर्व अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको शान्तिप्रतिको साझा जिम्मेवारीको दर्शन स्मरण गरे। अर्बमले भने, 'शान्ति प्रवर्द्धन गर्ने र आतिथेय समुदायसँग दिगो सम्बन्ध निर्माण गर्ने ध्येयप्रति यी स्वयंसेवकहरू उत्साहित छन्। सन् १९६१ मा केनेडीले भन्नुभएझैँ शान्तिप्रतिको जिम्मेवारी हाम्रो समग्र समाजको साझा दायित्व हो।'

पिसकोरको यो नयाँ टोली थपिएसँगै नेपालका ११ जिल्लामा कुल ९९ जना स्वयंसेवकहरू क्रियाशील हुनेछन्। सन् १९६२ देखि हालसम्म ४ हजारभन्दा बढी अमेरिकी स्वयंसेवकहरूले नेपालका विभिन्न दुर्गम गाउँहरूमा सेवा गरिसकेका छन्, जसले नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको एउटा बलियो ‘सफ्ट पावर’को रूपमा काम गर्दै आएको छ।

विश्वभरका १४४ देशमा सेवा पुर्‍याइसकेको पिसकोरले स्वयंसेवकहरूलाई नेतृत्व र व्यवस्थापकीय सीपले सुसज्जित मात्र गर्दैन, अमेरिकी लोकतान्त्रिक मूल्य र स्थानीय प्राथमिकताहरूबीच पुलको काम समेत गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad