नेकपा एमालेको दोस्रो तहका प्रभावशाली नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विधिबारे छलफल थालेका छन्। आफैँ हट्ने, केन्द्रीय समितिले राजीनामा माग्ने र विशेष महाधिवेशन गरी ओली हटाउने तीन वटा विधि रहेको नेताहरूको भनाइ छ।
पार्टीको अस्तित्व जोगाउन नेतृत्व परिवर्तन अनिवार्य रहेको निष्कर्ष निकालेका उनीहरू सकभर ओलीको सम्मानजनक बहिगर्मनको पर्खाइमा छन्। त्यसो नभए उनीहरू केन्द्रीय कमिटी र अन्तिम विकल्पका रुपमा विशेष महाधिवेशनमा जानुपर्ने निचोडमा पुगेका छन्।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लगायत नेताहरूले ओलीले ससम्मान पद नछोडे विशेष महाधिवेशनमा जानेसम्मको तयारी गरेका हुन्।
चुनावी परिणामले एमाले संकटमा फस्दै गएको र आगामी चुनाव झन् कमजोर हुने भन्दै सचिवालयकै नेताहरू एकजुट हुन थालेका छन्। उनीहरूले वैधानिक उपाय अपनाएर ओली हटाउने प्रयास थालेको बताए।
‘अब अध्यक्ष ओलीलाई लगेर एमाले बन्दैन, पार्टी ब्युँताउने सूत्र पहिल्याउँदै छौँ, एकपटक कमिटीगत बैठकबाट प्रयास गर्ने भन्ने छ,’ सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘सचिवालय बैठक, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा उहाँलाई राजीनामा दिन आग्रह गर्ने कुरामा बहुमत पदाधिकारी एकै ठाउँ छौँ।’
त्यसो त पार्टीभित्र र बाहिर अब केपी ओलीको नेतृत्व स्वीकार्य छैन भन्ने मत बलियो बन्दै गएको नेताहरू दाबी गर्छन्। उनीहरूको ध्यान केन्द्रीय कमिटीमा छ। किनकि, त्यहाँ ओलीको बहुमत छ।
‘विधिपूर्वक केन्द्रीय कमिटीले उहाँलाई छोड्नुस् भन्न सक्छ, पार्टी कमिटीको निर्णय बहुमतको निर्णय हुन्छ भन्ने छ। बहुमत केन्द्रीय कमिटीले छोड्नुस भन्यो भने त्यो उहाँले पालना गर्नुपर्यो। वैधानिकताको स्टेप त्यो हो,’ ती पदाधिकारीले थपे, ‘दोस्रो उपाय भनेको उहाँ आफैँले छोड्नुपर्यो।’
उपमहासचिव लेखराज भट्टले तीन महिनामा केन्द्रीय कमिटीको बैठक बस्ने गरिएको बताए। अब बैठक बस्ने बेला भएको छ।
ओली हटाउन जुटिरहेका एक उपाध्यक्षले केन्द्रीय सदस्यले ओलीको पक्ष लिएमा हारको पनि जिम्मा लिनुपर्ने बताए।
‘८५ जना केन्द्रीय सदस्यले चुनाव लडेका थिए। उनीहरूले किन हारेको भन्नुपर्यो। आफ्नो निर्वाचन क्षेत्रमा केपी ओलीको फोटो किन राखेनन्, उहाँलाई भाषणमा किन बोलाएनन्? त्यसको जवाफ दिनुपर्यो नि,’ उनले भने, ‘अहिले ओलीको विकल्प छैन भन्नेहरूले चुनावमा उहाँलाई त बोलाएनन्। तस्बिर राखेनन्। केन्द्रीय सदस्यमाथि नैतिक प्रश्न उठ्छ।’
ओलीले पदाधिकारी र केन्द्रीय सदस्यसँग आफूले सबैखालको दाउपेचको सामना गर्ने जवाफ दिएका छन्।
‘भेट्न आउने नेतालाई अध्यक्षले आफू निर्वाचित भएर आएकोले सबै फेस गर्ने बताउनुभएको छ,’ ओलीनिकट एक पदाधिकारीले भने, ‘उहाँ पनि त्यसै बस्नुभएको छैन।’
११ औँ महाधिवेशनमा निर्वाचित भएका ओलीले आफूलाई प्रधानमन्त्री घोषणा गएको चुनावमा पराजय व्यहोरेका थिए।
उनी सत्तामा रहेकै बेला जेनजी आन्दोलन भएको, लगत्तैको चुनावमा पार्टीले पराजय व्यहोर्दा पनि हारको जिम्मा लिएर नेतृत्व हस्तान्तरण नगरेपछि ओली हटाउने प्रक्रियामाथि उनीहरूले छलफल थालेका हुन्।
‘अध्यक्षको बहिर्गमनको विकल्प छैन, सजिलो बाटोबाट तयार नभए तेस्रो र चुनौतीपूर्ण कदम उठाउन पनि हामी तयार छौँ,’ अर्का सचिवालय सदस्यले भने, ‘विशेष महाधिवेशनको प्रावधान पनि छ, महाधिवेशन प्रतिनिधिले माग गरेपछि हुनैपर्छ। त्यसको पनि तयारी भइरहेको छ।’
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारले पक्राउ गरेपछि ओली हटाउने विषय सेलाएको थियो। अदालतको आदेशले ओली हिरासतमुक्त भएपछि फेरि हटाउने विषयमा छलफल सुरु भएको हो।
हिरासतमुक्त भएका ओली बिरामी छन्। उनले महत्वपूर्णबाहेक खासै भेटघाट गरेका छैनन्। सोही कारण देखाउँदै पार्टीको बैठक पनि बोलाएका छैनन्। नेताहरू बैठकको पर्खाइमा छन्।
एमालेको १९ जनाको सचिवालयमध्ये अहिलेसम्म उपाध्यक्ष पौडेल र महासचिव पोखरेल मात्र होइन, बहुमत पदाधिकारी ओली हटाउन सहमत छन्। यही मोर्चाबन्दी कायम रहे सहजै ओलीलाई हटाउन सकिनेमा उनीहरू विश्वस्त रहेको नेताहरूको भनाइ छ।
‘अध्यक्षलाई आफैँ राजीनामा दिन एकपटक आग्रह गछौँ, संकटको समाधान त्यही नै हो,’ एक उपाध्यक्षले भने, ‘चार जना उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र बहुमत सचिव अहिलेसम्म एकै ठाउँ उभिनुभएको छ।’
उपमहासचिव योगेश भट्टराईले अध्यक्ष बिरामी भएको हुनाले केही नभएको बताए।
‘अब बैठक बसेपछि सबै कुरा अघि बढ्छ,’ उनले भने, ‘बैठकमा उहाँले त्यसको प्रतिवाद कसरी गर्नुहुन्छ, संख्या के हुन्छ? दबाब के हुन्छ?’
अर्का एक उपाध्यक्षले एमाले पुनर्गठन गर्न नेताहरू लागेको स्वीकार गरे।
‘बाहिर एकथरी लाग्नुभएको छ। भित्र पनि लागिरहनुभएको छ,’ उनले भने।
एमाले पुनगर्ठन नगरी आगामी चुनावमा जान नसक्ने केही केन्द्रीय सदस्यहरू बताउँछन्। नेता रश्मि आचार्यले केन्द्रीय कमिटीको बैठकसम्म निकास निकाल्नुपर्ने सुझाव दिएको बताए।
‘निकास निकाल्ने विषयमा सबै ठाउँबाट प्रयत्न भएको छ,’ उनले भने।
Shares

प्रतिक्रिया