नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी कर्मचारीले जनताको सेवक भएर काम गर्नुपर्ने बताएका छन्।
बिहीबार रुकुम पूर्वको भ्रमणका क्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको छलफलमा प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक प्रतिफल जनताको घरदैलोमा पुर्याउने मुख्य जिम्मेवारी कर्मचारी प्रशासनको भएको बताए। ‘जनताले राज्यको उपस्थिति महसूस गर्ने भनेकै कर्मचारीको व्यवहार र सेवा प्रवाहबाट हो,’ प्रचण्डले भने, ‘तपाईंहरूले झञ्झटमुक्त र सुशासनयुक्त सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्नुहोला।’
उनले रुकुम पूर्वको विकास निर्माण, शान्ति सुरक्षा र चालु आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए। दुर्गम क्षेत्रका जनताको समस्यालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न उनले कर्मचारीलाई आग्रह गरे।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारलगायत छलफलमा सहभागी कार्यालय प्रमुखहरूले जिल्लाको वस्तुस्थिति, जनशक्ति अभाव र सम्पादन भइरहेका कार्यबारे जानकारी गराएका थिए। कार्यक्रममा जिल्लाका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया