हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्व मन्त्री सुदन किराँती समूह एकीकरण हुने कुरा २०८२ चैतदेखि नै चर्चामा थियो। श्रृंखलाबद्ध छलफल र पदीय बाँडफाँट पछि एकीकरणको टुंगो लागेको छ।
पार्टी महासचिव आरएन राईले नेपालखबरलाई बताएअनुसार आजै शुक्रबार दिउँसो एकीकरणको घोषणा गरिँदै छ। कार्यक्रमका लागि बागबजारको हार्दिक होटल बुक गरिसकिएको छ।
सुदनलाई दोस्रो तहको वरिष्ठ नेता र कोशीको मुख्यमन्त्रीमा सुनिश्चित गर्नेमा सहमती भएको हो। यो एकीकरणको सूचना बाहिरिएसँगै नेपाली रजतपटका चर्चित कलाकार दयाहाङ राईको नाम पनि शुक्रबार बिहानेदखि सामाजिक सञ्जालमा चर्चामा छ।
पूर्वमन्त्री सुदन किराँती भोजपुरका पूर्वमाओवादी नेता हुन्। जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालले पार्टी एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाएपछि त्यसमा असहमत हुँदै उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका थिए। फागुन २१ पछि उनले त्यो पार्टी पनि त्यागे।
पुर्ख्याैली थातथलो खोटाङ भएका हर्क साङपाङ स्वतन्त्र उम्मेदवारकाे रूपमा धरानको मेयर बनेपछि चर्चित बनेका थिए। प्रतिनिधिसभा निर्वाचनमा ३ प्रत्यक्षसहित ७ सांसद विजयी भएपछि उनी नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय राजनीतिको महत्वपूर्ण पक्ष भएको छ। माओवादी नेता हुँदादेखि नै सुदनको राजनीतिक मैदान भोजपुर र हर्कको थातथलो खोटाङ सिमाना जोडिएका छिमेकी जिल्ला हुन्।
सामाजिक सञ्जाल र अनलाइनहरुमा प्रकाशित सूचनालाई आधार मान्ने हो भने दुवै पक्ष मिलाउन दायाहाङ राईको मध्यस्थतामा शृंखलाबद्ध बैठक गरेपछि एकीकरण सम्भव भएको हो।
वास्तविक कुरा के हो?
नेपालखबरले दयाहाङ राईलाई फोन सम्पर्क गरी सोधेको छ, ‘हर्क साङपाङ–सुदन गुरुङ एकीकरणमा तपाईंले भूमिका निर्वाह गर्नुभएको हो?’
जवाफमा उनले हो भनेनन्। होइन पनि भनेनन्।
‘यस विषयमा अहिले कुरा नगरौँ। म भोजपुरमा छु। पछि कुरा गरौँला’, दयाहाङ राईले भने।
यो पनि : बालेनले सुकुमबासी बस्तीमा डोजर चलाएर मानवीय संवेदना कुल्चिए : दयाहाङ राई (भिडिओ)
Shares

प्रतिक्रिया