राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले सुकुम्बासी बस्तीमा ज्यान गएका दुई जना नागरिकको नैतिक जिम्मेवारी लिनुपर्ने बताएकी छन्।
सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा पीडा भएपछि दुई जना नागरिकको ज्यान गएकाले उनीहरूको जिम्मा सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने उनको जिकिर थियो।
प्रमुख सचेतक ओलीले भनिन्,‘सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने काम मानवीय संवेदनशीलताको गम्भीर असफलता हो। जसको नैतिक जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ भन्ने माग गर्दछु। उद्धार भन्ने हो भने उहाँहरूको पहिला लगत संकलन गरिन्थ्यो। उद्धार भएको भए उहाँहरूलाई पहिला नै उचित ठाउँमा व्यवस्थापन गरिन्थ्यो।’
प्रमुख सचेतक ओलीले सरकारले सुकुम्बासीहरुलाई पहिला नै व्यवस्थापन गरेर सो बस्ती हटाउने काम नगरेर गम्भीर गल्ती गरेको पनि औँल्याइन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले सरकारले संसद छलेर अध्यादेशहरू ल्याउने काम गरेको भन्दै आपत्ति जनाइन्। सरकारले प्रतिनिधिसभालाई कठपुतली बनाउने चेष्टा गरेको उनले आरोप समेत लगाइन्।
उनले भनिन्, ‘प्रतिनिधिसभा सरकारको कठपुतली होइन। तपाईंहरूलाई लाग्ला, यो मेरो कुरा हो। तर यो मेरो कुरा होइन, यो अहिले सत्तापक्षमा हुनु भएको माननीय मन्त्रीज्यूको कुरो हो।’
Shares

प्रतिक्रिया