नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालमा डायलासिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिद्धिकीले राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभावका कारण बिरामीले ठूलो सास्ती भोग्नु परिरहेको बताइन्। मेसिनको अभावले गर्दा बिरामी उपचारका लागि काठमाडौँ आउनुपर्ने बाध्यता रहेको र यसले गर्दा उनीहरूमाथि ठूलो आर्थिक भार थपिएको उनले बताइन्।
‘सेवा प्रवाह, नागरिकको भलाइ र अधिकारको संरक्षणको सन्दर्भमा मानव अधिकारको प्रत्याभूति हुनुपर्दछ। तर राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको कमीले बिरामीहरू आर्थिक समस्या झेल्दै काठमाडौँ धाउनुपर्ने अवस्था छ,’ उनले भनिन्।
बिरामी र उनीहरूका परिवारको यो समस्यालाई मध्यनजर गर्दै देशभरका कुन–कुन अस्पतालमा मेसिनको आवश्यकता छ भन्नेबारे अध्ययन गर्न सरकारलाई आग्रह गरिन्। उनले आगामी दिनमा देशका सबै अस्पतालमा आवश्यकताअनुसार डायलासिस मेसिन उपलब्ध गराउन माग गरिन्।
Shares

प्रतिक्रिया