राजनीति


जेनजी आन्दोलन टीओबीले हिंसात्मक बनाएको आयोगको निश्कर्ष, थप अनुसन्धान गर्न सिफारिस

सुधनले नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग मुडभेड
जेनजी आन्दोलन टीओबीले हिंसात्मक बनाएको आयोगको निश्कर्ष, थप अनुसन्धान गर्न सिफारिस

नेपालखबर
जेठ १३, २०८३ बुधबार १९:४०, काठमाडौँ

जेनजी आन्दोलन भड्काएको आरोपमा ‘तिब्बतीयन ओर्जिनल ब्लड (टीओबी)’ समूहमाथि थप अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ। 

आयोगले बुधबार सार्वजनिक गरेको आफ्नो अनुसन्धान प्रतिवेदनमा टीओबी समूह तथा अन्य व्यक्तिहरूबारे सुक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनी  कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ। माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी कार्यक्रम राखिएकोमा सो ठाउँमा जम्मा भएका प्रदर्शनकारीलाई नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ लैजाने, भीडलाई उक्साउने र संसद् भवनको सुरक्षामा रहेका फौजलाई समेत हिंसात्मक व्यवहार गर्न उक्साउने कार्य गरेको आरोप उनीहरूमाथि लगाइएको छ।

भदौ २३ गते बिहान साढे १० बजे करिब तीन हजारदेखि तीन हजार दुई सय मानिस जम्मा भएका थिए। प्रमुख जिल्ला अधिकारीले अनुमति दिएको परिधिमा रही सुरु भएको र्‍याली परिधि नाघेर बबरमहल, बिजुली बजार हुँदै नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि पुगेको थियो। 

त्यसक्रममा प्रदर्शनकारीको संख्या पनि थपिँदै २० देखि २५ हजार पुगेको आयोगको अनुसन्धानको निस्कर्ष छ। त्यही समयमा टीओबी लेखिएका कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएका ट्याटु खोपेका १५-२० जनाको समूह मोटरसाइकलमा आएर भीडलाई अगाडि बढ्न उत्तेजित बनाएका थिए। 

एभरेस्ट होटल अगाडि जम्मा भइसकेपछि मध्याह्न १२ बजेतिर हामी नेपाल संस्थाका सुधन गुरुङले भिडको नेतृत्व गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ। गुरुङले नेतृत्व लिएपछि प्रदर्शनकारी आक्रोसित भएको र सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड सुरु भएको थियो। त्यसपछि झडप हुँदै हुलदंगामा परिणत भएको आयोगले उल्लेख गरेको छ। 

त्यसपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। आक्रोसित भीडले संसद् भवनको १ नं. गेट अगाडि ढुंगामुढा सुरु गरेका थिए। सशस्त्र प्रहरीको वाटर क्यानन (पानीको फोहोरा हान्ने सवारी) को छतमा चढेका थिए। 

त्यसपछि केही अगुवा र सुरक्षा निकायले प्रदर्शनकारीलाई फर्कन र अवाञ्छित गतिविधि रोक्न आग्रह गरेका थिए। मध्याह्नतिरै काठमाडौँका प्रमुख जिल्ला अधिकारीले बल प्रयोग गर्न आदेश दिएका थिए। त्यसपछि उनले कर्फ्यू आदेश जारी गरे। शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन हिंसात्मक बन्नुमा टीओबीको भूमिका रहेको आयोगको ठहर छ।

‘शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू किन कसरी हिंसात्मक हुन पुगे भनी विश्लेषण गर्दा उक्त स्थानमा टीओबी लेखिएका कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५-२० जनाको बाइकर समूहको प्रवेशपश्चात विध्वंसात्मक कार्य गर्ने गराउने समूहले जेनजीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी जेनजी विद्यार्थीलाई ढाल बनाइ सुरक्षाकर्मीहरूमाथि नै ढुङ्गामुढा गर्दै संसद् भवनमा आक्रमण गरी आगजनी गर्ने प्रयास समेत गरी धन जनको क्षति पुर्‍याएको स्पष्ट हुन आयो’, प्रतिवेदनको तथ्य खण्डमा भनिएको छ।

त्यस्तै एम्बुलेन्स, राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन गर्न गएको सवारी साधनसमेत तोडफोड तथा आगजनी गरी कर्मचारीलाई कुटपिट तथा दुव्र्यवहार गरेको समेत उल्लेख छ।

शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई योजनाबद्ध तवरबाट उक्साई, आक्रोशित बनाई सुरक्षाकर्मी र संसद् भवनमाथि आक्रमण गर्ने टीओबी समूहको पहिचान गर्न र निजहरूको आयोजकसँग के कस्तो सम्बन्ध रहेको छ? यिनीहरु कसैबाट सञ्चालित हुन् कि होइनन्? भन्ने अनुसन्धान गर्न पनि आयोगले भनेको छ।

प्रदर्शनकारीलाई उक्साउने भड्काउनेमा स्पष्ट रूपमा संलग्नता देखिएको भन्दै उनीहरूको वास्तविकताबारे अनुसन्धान गरी निश्कर्षमा पुग्न पनि आयोगले औँल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad