राजनीति


कहिले एमाले त कहिले माओवादीतिर ढल्किँदा हाम्रो चाल बिर्सियौँ: भीष्मराज आङदेम्बे

कहिले एमाले त कहिले माओवादीतिर ढल्किँदा हाम्रो चाल बिर्सियौँ: भीष्मराज आङदेम्बे

नेपालखबर
जेठ १६, २०८३ शनिबार १६:२२, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा संख्याभन्दा उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन्। 

शनिबार नेपाल थारू संघको अधिवेशनमा बोल्दै आङदेम्बेले संसदमा कांग्रेसको संख्या कम भए पनि आफूहरूले उठाउने मुद्दा महत्त्वपूर्ण हुने बताए। संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उनको भनाइ थियो। 

संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उनले बताए। पार्टी र संसदलाई अलग-अलग ढंगले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढाउने वातावरण निर्माण गरिएको उनको भनाइ थियो। 

‘संसद् र पार्टीलाई पृथक ढंगबाट हेर्ने सोचबाट निकालेर पार्टी र संसद् एउटै ट्रयाकबाट हिँड्नुपर्छ, एउटै सोचबाट हिड्नुपर्छ, भन्ने मान्यतालाई स्थापित गरिरहेका छौँ,’ उनले भने। 

संसदमा लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गर्न कांग्रेसले निरन्तर आवाज उठाइरहेको उनले बताए। ‘हामी संसदमा निरन्तर आवाज उठाइराख्छौँ। त्यहाँ संसदीय मर्यादालाई कायम गराउने मात्रै होइन, लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गराउनको लागि पनि संख्याको भरमा नाङ्गो नाच नाच्नेहरुलाई लोकतान्त्रिक मूल्य मान्यतामा संख्याको परिणाममात्रै ठूलो कुरा हुँदैन, त्यहाँभित्र उठाइने मुद्दा ठूलो हो भन्नेकुराको स्थापित हामी गर्नेर्छौँ,’ उनले भने। 

उनले कांग्रेसभित्र देखिएको समस्याको समाधान गर्नुपर्नेमा पनि जोड दिए। सबै एकजुट भएर गुमेको पहिचानलाई फिर्ता ल्याउनुपर्ने बताए। कांग्रेसको मूल चरित्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा हिमाल, पहाड, तराई–मधेसका विविध संवेदनालाई समेट्ने रहेको उल्लेख गरे। 
‘सत्ताप्राप्ति गर्नको लागि सुरु गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यौँ, कहिले माओवादीको चालमा मिसिन पुग्यौँ। यी दुवैको चालमा मिसिँदा हामीले हाम्रो चाल बिर्सिन पुग्यौँ,’ उनले भने, ‘कांग्रेसको चाल भनेको बहुजाती, भाषाधर्म, संस्कृतिको, हिमाल, पहाड, तराई, मधेसभित्रको संवेदनको, यी सम्पूर्ण संवेदनाहरुको एकिकृत भावना हो।’

उनले वर्तमान पार्टी नेतृत्वसँग पार्टीलाई पुनःजागृत गर्ने जोश, जाँगर र हुटहुटी रहेको जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad