राजनीति


सरकार कामचलाउ बनिसकेपछि भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री, मुख्य एजेन्डा खोप

सरकार कामचलाउ बनिसकेपछि भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री, मुख्य एजेन्डा खोप

मणि दाहाल
पुस २४, २०७७ शुक्रबार १६:७,

परराष्ट्रमन्त्री बनेको करिब तीन वर्षपछि प्रदीप ज्ञवालीले पहिलो पटक भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेसँगै सरकार कामचलाउ बनिसकेपछि उनको भारत भ्रमण तय भएको हो। 

धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १ गते ज्ञवाली भारत भ्रमणमा जान लागेको जानकारी दिए।

‘हाम्रो परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस समयमा गौरीफन्टा नाकाको बारेमा छलफल हुने छ,’ प्रधामन्त्री ओलीले भने।

नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन्। तर नेपाल र भारत दुवैतर्फको परराष्ट्र मन्त्रालयले भ्रमणको विषयमा औपचारिक रुपमा केही बताएको छैन।

माघ २ मा ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग बैठक गर्ने बताइएको छ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भ्रमणको तयारी भइरहेको बताए।

‘परराष्ट्रमन्त्री ज्ञवालीले छिटै भारत भ्रमण गर्नुहुन्छ,’ आचार्यले नेपालखबरसँग टेलिफोनमा भने, ‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उहाँ भारत आउन लाग्नुभएको हो।’

आचार्यले बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा वार्ता हुने बताए। आयोगको पाँचौ बैठक २०७६ भदौमा काठमाडौँमा भएको थियो।

यसपटकको बैठकमा सीमा विवाद, कोरोनाविरुद्धको खोप, पञ्चेश्वर परियोजना, आदि प्रमुख एजेन्डा रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

ज्ञवाली पहिलो द्विपक्षीय औपचारिक भ्रमणमा भारत जान लागेका हुन्। सन् २०२१ मा भारत भ्रमण गर्ने उनी पहिलो विदेशमन्त्री बन्ने छन्। ज्ञवालीले रासायनिक मल आयातको विषयमा पनि छलफल गर्नेछन्।

यसैबीच नेपाल सरकारले भारतसँग १ करोड २० लाख डोज कोरोनाविरुद्धको खोप मागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको समयमा नेपालले भारतबाट सो प्रतिबद्धता चाहेको द हिन्दुस्तान टाइम्सले जनाएको छ।

राजदूत आचार्यले कोरोना खोपको विषयमा खोप उत्पादन गर्ने कम्पनी तथा सरकारी अधिकारीहरुसँग छलफल भएको बताए।

‘हामीले भारत बायोटेक र सिरमसँग छुट्टाछुट्टै कुराकानी गरेका छौँ। भारतीय सरकारका अधिकारीहरुसँग पनि छलफल भएको छ। यो विषय सकारात्मक रुपमा अघि बढेको छ,’ राजदूत आचार्यले भने, ‘केही समयदेखि हामी निरन्तर छलफलमा छौँ। भारतमा खोप दिन लागेपछि हामी पनि ढिलो हुने छैनौँ।’

तर उनले के कति परिणाममा खोप ल्याउन लागिएको हो, खुलाउन चाहेनन्।

‘हामीलाई एकै पटक सबै चाहिने होइन। यो क्रमशः ल्याउने हो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित फ्रान्टलाइनमा बसेर काम गर्नेहरुलाई आवश्यक परिमाणमा खोप ल्याउने विषयमा कुराकानी भरहेको छ,’ आचार्यले भने।

सिरमले आक्सफोर्डनिर्मित खोप उत्पादन गरिरहेको छ। सिरम विश्वमा सबैभन्दा धेरै खोप उत्पादन गर्ने कम्पनी हो। २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने यो खोपलाई नेपालले प्राथमिकतामा राखेको छ।

मंसिर दोस्रो साता नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले पनि भारतले खोप वितरणमा नेपाललाई प्राथमिकतामा राख्ने बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .