राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन्।
सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन्।
चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको बताए। नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भएभने विदेशी शक्तिकेन्द्रहरुले हस्तक्षेप गर्न नसक्ने पनि उनको भनाई छ।
समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको बताए। आफूहरुले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भएपनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उनको भनाई छ। यो संविधानमा भएका संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धी पनि गुम्ने भएकाले यो संविधानलाई टेकेर अघि बढ्नुपर्ने पनि उनले बताए।
नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताए। यसको परिक्षण गर्ने थलो अब अदालत भएकाले अदालतले यसको बैधानिकता, कानुनी पक्ष, औचित्य र सान्र्दभिकता सबै सर्वोच्च अदालतले निरुपण गर्ने उनको भनाई छ। सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्नेमा उनको विश्वास छ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टी सँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बताए। अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उनले प्रधानमन्त्री ओलीले फट्याई गरेको बताए।
पूर्व सभामुख दमननाथ ढुंगानाले जनताको बलिदान र संघर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधि सभा विघटन भन्दा अर्को नभएको जिकिर गरे। प्रधानमन्त्री ओलीले शासकीय दम्भ देखाएको उनको भनाई छ। संसद पुनर्स्थापना गर्नु आवश्यक रहेको उनको भनाई छ।
बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत, अल्पमतको कुनै अर्थ नरहेको बताए। प्रधानमन्त्री ओलीलाई एकलौटी चाहिएको उनको भनाई छ। प्रधानमन्त्री ओलीसँग आफूबाहेक अरुलाई कुर्सी नछोड्ने राजनीतिक अभिष्टता रहेको पनि उनले बताए।
कार्यक्रममा बोल्दै सबै बक्ताहरुले संसद विघटनको कदमप्रति विरोध जनाउँदै पुनर्स्थापनामा जोड दिएका थिए।

प्रतिक्रिया