राजनीति


आफूलाई ओलीको दास बन्न गएको भनेपछि खगेन्द्र संग्रौलालाई घनश्याम भुसालको पत्र

आफूलाई ओलीको दास बन्न गएको भनेपछि खगेन्द्र संग्रौलालाई घनश्याम भुसालको पत्र

नेपालखबर
जेठ २०, २०७८ बिहिबार २३:४७,

लेखक खगेन्द्र संग्रौलाले बिहीबार एक अनलाइन पत्रिकामा लेख लेख्दै एमाले एकताका लागि ओली पक्षसँग वार्ता गरिरहेका आफूसहित माधव नेपाल पक्षका दोस्रो तहका नेतालाई दास बन्न गएको भनेर आलोचना गरेपछि उनलाई नेता घनश्याम भुसालले पत्र लेखेका छन्।

लेखमा संग्रौलाले भनेका छन्, ‘आश्रयका दीनदुःखी याचकहरूलाई खड्गप्रसाद शर्मा ओलीले थर्काउँदै भनेछन्– पहिले रिटमा धस्काएका नाम खुरुक्क फिर्ता गर, आश्रयबारे अनि गरुँला विचार। तत्पश्चात्, घनश्यामादि कणहरू सर्वशक्तिमान् प्रभुको कठोर चित्त पगाल्ने हेतुले निजहजुरका चरणमा बफादारीको प्रमाणपत्र अर्पण गर्न र मौसुफतुल्य प्रभुको छत्रछायाँमा मुन्टो लुकाउने दुलो प्राप्त गर्न रातोदिन सास नबिसाई पापड बेलिरहेका छन्।’

लेखक संग्रौलाले विनु सुवेदीको यो ट्विटबाट लेखको सुरुवात गरेका छन्, ‘दासहरूलाई दास बन्न नपाउँदा ठूलो पीडा हुन्छ। जस्तो कि एमालेको दोस्रो पुस्ता।’

लेखमा संग्रौलाले भुसालसहित एमाले एकताका लागि प्रयासरत सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टको कडा आलोचना गरेका छन्।

त्यसैको प्रत्युत्तरमा पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भुसालले लेखक संग्रौलाका नाममा पत्र लेखेका हुन्।

‘लोक र शास्त्रको अन्तरक्रियालाई राम्ररी बुझ्न नसक्दा हामी या त कोरा शास्त्रवादी हुन्छौं या भद्दा लोकवादी हुन्छौं,’ भुसालले संग्रौलाई जवाफ दिएका छन्, ‘हाम्रो भूराजनीति, सामाजिक–आर्थिक अवस्था, त्यसमाथि बनेको राजनीति, राजनीतिका पात्रहरू र फेरि ती पात्रहरूले हाम्रो भूराजनीति र सामाजिक–आर्थिक अवस्थासँग गर्ने अन्तरक्रियामा हेर्ने, अर्थात् द्वन्द्ववादी हुने, अझै स्पष्ट रूपमा भन्ने हो भने भद्दा लोकवादी नहुने मेरो प्रयत्न हो।’

यस्तो छ, नेता भुसालले लेखक संग्रौलालाई लेखेको पत्रको पूर्ण पाठ :
खगेन दाई,
सधैंझैं संग्रामी अभिवादन !

लोकवाद र शास्त्रवादमा कुन श्रेष्ठ हो भन्ने हजारौं वर्षको विवादलाई द्वन्द्वात्मक भौतिकवादले के भनेर समाधान गरिदियो भने सिद्धान्त व्यवहारबाट उत्पन्न हुन्छ तर त्यही सिद्धान्तले नयाँ चरणमा व्यवहारलार्ई मार्गदर्शन गर्छ। लोक र शास्त्रको अन्तरक्रियालाई राम्ररी बुझ्न नसक्दा हामी या त कोरा शास्त्रवादी हुन्छौं या भद्दा लोकवादी हुन्छौं। हाम्रो भूराजनीति, सामाजिक–आर्थिक अवस्था, त्यसमाथि बनेको राजनीति, राजनीतिका पात्रहरू र फेरि ती पात्रहरूले हाम्रो भूराजनीति र सामाजिक–आर्थिक अवस्थासँग गर्ने अन्तरक्रियामा हेर्ने, अर्थात् द्वन्द्ववादी हुने, अझै स्पष्ट रूपमा भन्ने हो भने भद्दा लोकवादी नहुने मेरो प्रयत्न हो।

नीतिशास्त्रका तमाम विषयलाई मैले यही सन्दर्भमा बुझ्ने प्रयास गरेको छु। यस व्यापकतामा आलोचना गरिदिनुभयो भने मेरा लागि वा मजस्ता लोकलाई बदल्न भनेर हिँडेकाहरूका लागि अर्थपूर्ण हुनेछ।

यस कोरोनाको महामारीबाट सुरक्षित रहनुहुनेछ।
तपाईंको भाइ,
घनश्याम भुसाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .