२०५७ साउन २२ को राति एउटा गाडीले दरबारमार्गमा मोटरसाइकललाई ठक्कर दियो। रातको समयमा पजेरो गाडीको ठक्करबाट मोटरसाइकल ढल्यो। चालकको घटना स्थलमै मृत्यु भयो।
दुर्घटना गराए पनि गाडी रोकिएन, सिधै अघि बढ्यो। प्रहरीले पछ्यायो। गाडी, त्यसको नम्बर, चालक पहिचान गर्यो। तर पजेरी सिधै निर्मल निवास छिर्यो। निर्मल निवास अर्थात् तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको निवास। प्रहरीले कुरो बुझ्यो, फनक्क फर्कियो।
भोलिपल्ट केही सञ्चार माध्यमले सार्वजनिक गरे, ‘शाहाज्यादा पारस शाहले चलाएको गाडीको ठक्करबाट गायक प्रविण गुरुङको मृत्यु।’ राजपरिवार सदस्यलाई कारवाही हुनुपर्ने आवाज चर्को रुपमा रुपमा उठ्यो। तर सरकार र प्रशासनले कानुनी प्रक्रिया अघि बढाउन आँट गरेन। किनभने त्यतिबेला सत्ताको केन्द्र राजदबार थियो र पारस तत्कालीन श्री ५ वीरेन्द्रका भाईका छोरा थिए।
पारस शाहलाई कारवाही माग गर्दै तत्कालीन नेकपा (माले)को विद्यार्थी संगठनले आन्दोलन गर्यो। अनेरास्ववियू अध्यक्ष रविन्द्र अधिकारी नेतृत्वमा कारवाहीको माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन भयो। राजतन्त्र सक्रिय रहेकै अवस्थामै ५ लाखभन्दा बढी सर्वसाधारणले राजपरिवार सदस्यलाई कारवाही माग गर्ने अभियानमा हस्ताक्षर गरे।
जनदबाब बढ्दै गएपछि पारसको संलग्नता नदेखाई कारवाही अघि बढाउन प्रयास भए। अन्ततः सो रात गाडी चलाउने तत्कालीन शाहज्यादा पारस नभई अर्कै व्यक्ति थिए भन्ने कथा रचियो। पारसलाई निर्दोष सावित गर्न सरकार र प्रशासनले प्रपञ्च मिलायो।
ओखलढुंगाका खड्गबहादुर भुजेल पारसको गाडी चालक म हूँ भन्दै प्रहरी समक्ष पुगे। अदालतको आदेशपछि उनी जेल गए। पारस शाह सम्पूर्ण कानुनी कारवाहीबाट जोगिए।
पछि नयाँ पत्रिकालाई अन्तर्वार्ता दिँदै भुजेलले खुलासा गरे, ‘वास्तवमा म पारस शाहको चालक थिइनँ। अमेरिकाको भिसा लाइदिने र केही लाख रुपैयाँ दिने भनेपछि चालक मै हुँ भनेर बयान दिएको हुँ।’
प्रविण गुरुङ प्रकरणको दुई दशकपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको छ। ‘सामन्त्री राजतन्त्र’ मासिएको छ। सत्ताको केन्द्रमा रहने राज परिवार सर्वसाधारण नागरिकमा रूपान्तरण भएको छ। जनयुद्ध गरिरहेको माओवादी खुला राजनीतिको मियो भएको छ। पारसविरुद्ध साहसिक आन्दोलन गर्ने नेताहरु सत्तासिन हुन पुगेका छन्।
तर हिजोसम्म कानुनी राज र विधिको शासनको वकालत गर्नेहरुको चरित्र आज पारस शाह झैँ भएको छ। आफू संलग्न संगीन अपराधलाई सत्ता र शक्तिको आडमा पारस शैलीमा दाबउन कुनै कसर बाँकी राखिएको छैन।
नेकपा नेता तथा तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै महिला रोशनी शाहीले बलात्कार आरोप लगाई पछि बयान फेरेपछि धेरैले १९ वर्षअघिको त्यही प्रविण गुरुङ प्रकरण स्मरण गरेका छन्। सामाजिक सञ्जालमा यी दुवै घटनाबारे चर्चा भएका छन्।
तत्कालीन सभामुख महरामाथि बलात्कार आरोपमा छानबिन हुनसक्ने प्रशस्त तथ्यहरु छन्। तर बलात्कार आरोप लगाउने रोशनी शाही कुनै बेलाका खड्ग भुजेल शैलीमा भनिरहेकी छिन्, ‘महरा सर निर्दोष हुनुहुन्छ। उहाँ मेरो बाउ समानको मान्छे हो।’
फौजदारी अभियोगको विषय भए पनि प्रहरीले घटनाका विषयमा कारवाही अघि बढाउन आँट गरेको छैन। उजुरी नपरेको भन्दै अनुसन्धान प्रक्रिया अन्यौलमा छ। महराको पार्टी नेकपाले सभामुख, संसद पदबाट राजीनामा गरेर छानबिन प्रक्रियामा सघाउने निर्णय गरेको थियो। महराले पद त्यागे पनि अरू २ विषयको पालना गरेका छैनन्।
शाहीले प्रहरीको हटलाइन १०० मा फोन गरी आफूलाई बलात्कर भएको शुरुमा गराएकी थिइन्। त्यही आधारमा महरामाथि छानबिन अघि बढाउनु पर्ने कतिपयको बुझाइ छ।
पूर्व प्रहरी अधिकारी तथा कानुन व्यवसायीले सरकारवादी मुद्दा भएको कारण एक पटक जानकारीमा आएपछि त्यस विषयलाई अनुसन्धानले मात्रै टुङ्गाउन सक्ने बताउँदै आएका छन्। सर्वसाधारणको हकमा भएका यस्ता घटनामा प्रहरीले तत्कालै पक्राउ गरी अनुसन्धानमा लिनेगर्छ। सरकार र प्रशासनको व्यवहार ‘सामन्ती राजतन्त्र’ झैँ देखिएको यो प्रकरणले केही गम्भीर प्रश्न उब्जाइदिएको छ: ‘के महराहरु गणतन्त्रका छोटे राजा हुन् जो कानुनभन्दा माथि रहन्छन्? अनि राज्यको कानुन निम्छरा जनतालाई मात्र हो?’

प्रतिक्रिया