राजनीति


कीर्तिपुरको डाँडाबाटै महिनामा ३ लाख कमाउन सकिन्छ : अर्थमन्त्री खनाल

कीर्तिपुरको डाँडाबाटै महिनामा ३ लाख कमाउन सकिन्छ : अर्थमन्त्री खनाल

नेपालखबर
पुस १५, २०८२ मंगलबार १८:४, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचना तथा प्रविधि (आईटी) सेवा निर्यात गर्ने कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही निःशर्त उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार आईटी क्षेत्रमा ज्ञान र सीप प्रयोग गरी विदेशी पूँजी भित्र्याउने व्यवसायीलाई सहज बनाउन यो व्यवस्था गरिएको हो। साथै, विदेशमा रहेका नेपाली नागरिक स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र पारिश्रमिकमा काम गर्न सक्ने वातावरण तयार गर्न सरकार लागिरहेको उनले बताए।

अर्थमन्त्री खनालले विद्यमान कानुनलाई अध्यादेशमार्फत संशोधन गर्नु उपयुक्त नठानेको स्पष्ट पार्दै आवश्यक नीति तथा नियममा मात्र संशोधन गरिएको जानकारी दिए। उनका अनुसार आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन भइसकेका छन्।

कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छ भन्ने कांग्रेस महामन्त्री गगन थापाको भनाइ यथार्थपरक रहेको समेत उनले बताए। ‘आज कीर्तिपुरको डाँडामा ल्यापटप बोकेर महिनाको ३ लाख कमाउने भन्ने गगन थापाज्यूको भनाइ कुनै कल्पना होइन, यो वास्तविक कथा हो,’ खनालले भने।

उनले नेपालमै बसेर रिमोट वर्कमार्फत विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्न राज्यले समयमै चासो नदिएको पनि स्वीकार गरे। ‘८-९ वर्षअघि युवाहरूले नेपालबाटै रिमोट वर्क गरेर डलर भित्र्याउन सकिन्छ भन्दा कसैले बुझेन,’ खनालले भने।

अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछि पर्यटन उद्योग तथा आन्तरिक र बाह्य लगानीका लागि अझै अनुकूल वातावरण बनिनसकेको उल्लेख गर्दै सबै सरोकारवालाले यसतर्फ गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad