ad ad

राजनीति


प्रचण्डलाई छाडेपछिको पहिलो चुनावमै हारे लेखराज भट्ट

प्रचण्डलाई छाडेपछिको पहिलो चुनावमै हारे लेखराज भट्ट

माओवादी अध्यक्ष प्रचण्डलाई मोटरसाइकलमा राखेर हिडाउँदै लेखराज भट्ट। यो तस्बिर पत्रकार भोजराज भाटले लुकेर कैद गरेका थिए।


केशव सावद
मंसिर ८, २०७९ बिहिबार ०:१९, काठमाडौँ

‘मैले हुर्काएका एकजना नेता छन् नि। मैले पटकपटक मन्त्री बनाएको मान्छे। तिनी त अहिले कता हो कता, सोच्नै नसक्ने गरी गए। मलाई डर थियो,’ नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत १७ माघमा कैलाली पुगेर भनेका थिए, ‘सुदूरपश्चिमको ठूलो नेता यही हो है भनेको थिएँ। अब उनी केपीको वरिपरि घुम्ने भए। केपीको दलाल भए। केपी आफैं दलाल हुन्, दलालको पनि दलाल।’

तत्कालिन उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री समेत रहेका एमाले नेता लेखराज भट्टराई लक्षित गर्दै प्रचण्डले सो अभिव्यक्ति दिएका थिए। 

१० वर्षीय ‘जनयुद्ध’ (सशस्त्र द्वन्द्व) का सहयोद्धाले पार्टीको माया चटक्कै मारेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएपछि उनले तत्कालीन मन्त्री भट्टको गृहजिल्ला कैलाली पुगेर उनैप्रति आक्रोश ओकलेका थिए।

राजनीतिक परिवर्तनका लागि कुनै समय ज्यानको बाजी लगाएर ‘मर्न र मार्न’ तयार भएका सिमित सहयोद्धा मध्येमा पर्ने भट्ट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएसँगै ओलीनिकट भएको असन्तुष्टि प्रचण्डमा थियो। 

प्रचण्डले ‘दलालको पनि दलाल’ भनिएका तिनै भट्ट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सुदूरपश्चिम कार्यसमिति सभापति वीरबहादुर बलायरसँग पराजित भएका छन्।

नेकपा विघटन भएपछि माओवादीमा नर्फिकएर एमालेमा गएपछि सुदूरपश्चिम इन्चार्ज बनाइएका भट्ट ३ हजार ५८७ मतले पराजित भएका हुन्।  

माओवादी र एमालेसँग चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीको सहयोगमा बलायर २६ हजार १७१ मत पाएर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा प्रचण्डका पूर्व सहयोद्धा भट्टले २२ हजार ५८७ मत पाएका छन्। 

भट्ट २०७४ को निर्वाचनमा माओवादीका तर्फबाट प्रतिनिधिसभामा विजयी भएका थिए। उनले कांग्रेस नेता सुनिलकुमार भण्डारीलाई झण्डै ११ हजार मतान्तरले पराजित गरेका थिए। उक्त निर्वाचनमा भट्टले ३१ हजार ३५९ र भण्डारीले २० हजार ९६० मत पाएका थिए।

२०७४ को निर्वाचन पछि माओवादी केन्द्र र एमालेबीच एकीकरणको एकता भइ ‘नेकपा’ बनेपछि पनि प्रचण्ड र भट्टको सम्बन्ध सुमधुर थियो। २०६२÷०६३ सालको जनआन्दोलन र नयाँदिल्लीमा भएको १२ बुँदे सहमतिपछि दुई दिन काठमाडौं बसेर उनै भट्टले ‘कमान्ड’ गरेको सुदूरपश्चिम गएका थिए।

भूमिगत जीवनबाट पहिलो पटक बालुवाटारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक भएपछि प्रचण्डले सहयोद्धा भट्टको पुख्यौली जिल्ला डोटीको बीपी नगर पुगेर माओवादीको तत्कालीन संरचनाअनुसार बनाइएको भेरी–कर्णाली र सेती–महाकाली ब्यूरोको बैठक गरेका थिए। 

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासहित प्रचण्ड–बाबुराम असार ४ गते हेलिकोप्टरमा चढेर डोटीको बिपी नगर उत्रिएका थिए। माओवादीको तत्कालीन सेती–महाकाली स्वायत्त प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका भट्ट पार्टीका दुई शीर्ष नेताको स्वागतका लागि कैलालीको अत्तरियाबाट बीपी नगर पुगेका थिए। 

बीपी नगरमा भेरी–कर्णाली र सेती–महाकाली ब्यूरोको दुई दिने प्रशिक्षण पनि थियो। प्रशिक्षणपछि प्रचण्डले भूमिगत राजनीतिबाट फर्किए पछि पहिलो पटक भट्टले ‘कमाण्ड’ गरेको सुदूरपश्चिमको बीपी नगरमा जनतासामु भाषण गरेका थिए।

दुई दिनसम्म बिपीनगरमा बैठक चलेपछि प्रचण्ड आफ्ना लडाकु दस्तासहित भट्टको गृहनगर अत्तरिया झरेका थिए। तर, अत्तरिया झरे पनि भट्टले सुरक्षालाई मध्यनगर गरेर अध्यक्ष प्रचण्डलाई आफ्नो घरमा भने बसाएका थिएनन्। सुरक्षामा खतरा हुने आशंकमा उनलाई भट्टले सुरक्षित सेल्टर मानिने छिमेकीको घरमा राखेका थिए।

प्रचण्ड अत्तरिया पुगेको भोलिपल्ट पत्रकार सम्मेलन आयोजना गरिएको थियो। भट्टले भोलिपल्ट सुरक्षित सेल्टरमा राखिएका अध्यक्ष प्रचण्डलाई मोटरसाइकलमा राखेर पत्रकार सम्मेलनका लागि निर्धारित स्थानमा ल्याएका थिए।

उक्त दृष्य पत्रकार भोजराज भाटले लुकेर क्यामेरामा कैद गरेका थिए। पछि नेकपा विघटनपछि प्रचण्ड–भट्टबीच सम्बन्ध बिग्रिएपछि उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .