नेकपामा विवाद देखिन थालेदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीको चितवन सम्बन्धी एउटै नीति थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जसरी पनि चितवन-३ बाट हराउने।
चितवन कांग्रेसका असन्तुष्ट नेता दिनेश कोइरालासँग दुई वर्षदेखि बढ्न थालेको हिमचिमको कारण यही थियो।
२०७४ को निर्वाचनमा प्रचण्डसँगै पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेसँग पनि उनले प्रचण्डलाई हराउन समानान्तर कुराकानी चलाइरहेका थिए। त्यहीकारण पाण्डे राप्रपा छाडेर एमाले पार्टी प्रवेश गर्न लागेको हल्ला बेला–बेला एमाले बृत्तबाट चलिरहन्थ्यो।
पाण्डे र कोइरालाको साथ लिएर जसरी पनि आफूलाई हराउने योजना बुझेपछि प्रचण्ड चितवन–३ छाडेर गोरखा–२ मा प्रतिस्पर्धा गर्न गए। प्रचण्ड गोरखा लागेपछि ओलीले पाण्डेको साथ छाडे। त्यस क्षेत्रमा कांग्रेसबाट विद्रोह गरेका कोइरालालाई अघि बढाएर।
जारी मतगणनामा चितवन–३ मा राप्रपाका पाण्डे ठूलो मतान्तरका साथ अग्रस्थानमा छन्। त्यहाँ माओवादी केन्द्रका डा. भोजराज अधिकारीले पछ्याइरहेका छन्।
त्यहाँ सबैभन्दा बढी बिजोग एमाले समर्थित स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको भएको छ। कोइराला (माछा चिन्ह) ९ हजार ७ सय ५४ मतका साथ त्यहाँ चौथो स्थानमा छन्।
कोइरालालाई जिताउन ओलीले एमालेको उम्मेदवार रहेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको उम्मेदवारको बलजफ्ती खारेज गराएका थिए। कोइरालाको पक्षमा माहोल बनाउन ओली चितवनपनि पुगेका थिए।
तर, मतगणना अन्तिमतिर पुग्न लाग्दा एमाले समर्थित कोइराला दोस्रो र तेस्रो स्थानमा समेत आउन सकेका छैनन्।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल १३ हजार ६ सय ५६ मतसहित तेस्रो स्थानमा रहँदा दोस्रो स्थानमा रहँदा माओवादीका डा. अधिकारीले १८ हजार ७ सय ५१ र निरन्तर अग्रता हासिल गरिरहेका राप्रपाका पाण्डेले २७ हजार ५ सय १ मत प्राप्त गरेका छन्।
चितवन–३ मा एमाले समर्थित स्वतन्त्र उम्मेदवारको मात्र होइन, २०७४ को आम निर्वाचनमा ठूलो मतान्तरसहित चितवनबाट निर्वाचित एमालेका बाँकी दुई उम्मेदवारहरु पनि चितवनबाट पराजित हुन पुगेका छन्।
चितवन–२ बाट २०७४ को निर्वाचनमा १७ हजार भन्दा बढी मतान्तरले विजय हासिल गरेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल यसपटक त्यो भन्दा ठूलो मतान्तरका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पराजित भइसकेका छन्। पोखरेल यसपटक दोस्रो स्थानमा पनि आउन सकेनन्।
त्यस क्षेत्रमा विजयी लामिछानेले ४९ हजार २ सय ६४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मात्र प्राप्त गरे। एमालेका पोखरेल तेस्रो स्थानमा रहँदै १४ हजार ६ सय ६७ मतमात्रै पाए।
चितवनमा एमालेका लागि सबैभन्दा बलियो मानिएको यो क्षेत्रमा २०७४ को निर्वाचनमा पोखरेल ४४ हजार ६ सय ७० मतसहित विजयी भएका थिए।
कांग्रेसका शेषनाथ अधिकारीलाई उनले १७ हजार ३ सय ५६ मतान्तरले पराजित गरेका थिए। पराजित अधिकारीले २७ हजार ३ सय १४ मात्र मत प्राप्त गरेका थिए।
२०७४ को निर्वाचनमा १४ हजार मतान्तरले एमाले नेता सुरेन्द्र प्रसाद पाण्डे विजयी भएको चितवन–१ को परिणामपनि एमालेका लागि उस्तै लज्जास्पद रह्यो।
अघिल्लो निर्वाचनमा १४ हजार बढी मतान्तरले विजय हासिल गरेका पाण्डे यसपटक सो क्षेत्रमा झण्डै ८ हजार मतान्तरले पराजित भएका छन्।
उक्त क्षेत्रमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३४ हजार १ सय ८९ मतका साथ विजयी भइसकेका छन्। एमाले उम्मेदवार पाण्डेले यहाँ दोस्रो स्थान भने जोगाएका छन्।
ढकालका निकटतम प्रतिद्वन्द्वी पाण्डेले २६ हजार ६सय ८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विश्वनाथ पौडेल २४ हजार ९ सय ९० मत प्राप्त गरी तेस्रो स्थानमा रहे।
Shares
प्रतिक्रिया