ad ad

राजनीति


ठाकुर गैरेलाई एमाले विभाजनले जुराएको अवसर

विद्यार्थी संगठनको नेतृत्व गरेको १४ वर्षपछि संसदमा पाइला
ठाकुर गैरेलाई एमाले विभाजनले जुराएको अवसर

फाइल तस्बिर : ठाकुर गैरे


सुदीप भण्डारी
मंसिर ९, २०७९ शुक्रबार १५:४९, बुटवल

२०६३ सालमा ठाकुर गैरे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष बनेका थिए। २०६५ मा रामकुमारी झाँक्रीलाई पद हस्तान्तरण गर्दै उनी विद्यार्थी राजनीतिबाट बिदा भए। आफूपछिका अध्यक्ष रामकुमारी झाँक्री र नविना ५ वर्षअघि नै संसद् प्रवेश गरे पनि गैरेले सांसद हुने अवसर पाएका थिएनन्। 

आफ्नो क्षेत्रमा लगातार चुनाव लडिरहेका सोमप्रसाद पाण्डे एमाले विभाजनका बेला एकीकृत समाजवादीतर्फ लागेपछि यो पटक बल्ल गैरेलाई टिकट पाउन सहज भएको थियो।

चुनावी प्रतिस्पर्धामा गैरेले पाण्डेलाई ३ हजार ९६६ मतान्तरले हराए। गैरेले २७ हजार ८१७ मत पाउँदा  पाण्डेले २३ हजार ८५१ मत ल्याए। 

२०५१ सालमा पाल्पा क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डे पहिलोपटक सांसद बन्दा ठाकुर गैरे तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सचिव अनि अनेरास्ववियु पाल्पा जिल्ला कमिटीको अध्यक्ष थिए। 

०५३ सालमा उनी अनेरास्ववियुको केन्द्रीय सदस्य बने। केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सचिव, महासचिव हुँदै २०६३ सालमा सो संगठनको केन्द्रीय अध्यक्ष भएका थिए। 

२०६५ मा विद्यार्थी राजनीतिको नेतृत्वबाट बिदा भएको १४ वर्षपछि गैरेको संसदीय यात्रा सुरु भएको छ।

२०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनयता ठाकुर गैरे एमालेको केन्द्रीय सदस्य छन्। उनको उम्मेदवारीको चर्चा २०७० सालको चुनावदेखि नै थियो।

दोस्रो संविधानसभाको चुनावमा पाल्पा क्षेत्र नम्बर २ बाट पाण्डेसँगै गैरेको पनि नाम उम्मेदवारका लागि सिफारिस भएको थियो। अन्तिममा पाण्डेले नै टिकट हात पारे। प्रत्यक्षमा टिकट नपाएका गैरेको नाम त्यसबेला समानुपातिकको सूचीमा राखिए पनि संविधानसभामा अटाउन सकेनन्। 

२०७४ सालको चुनावमा पनि पाल्पा २ मा गैरेको अन्तिमसम्म दाबी थियो। त्यसबेला उनी समानुपातिकतर्फ बस्न मानेका थिएनन्। तर गैरेलाई पन्छाउँदै पाण्डेले नै टिकट पाएका थिए। यसपटक कांग्रेस र माओवादी केन्द्रको साथ पाएका पाण्डेसँगको प्रतिस्पर्धामा ठाकुर गैरेले जिते।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .