राजनीति


प्रदेशमा निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्ने मुख्यमन्त्रीको प्रतिबद्धता

प्रदेशमा निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्ने मुख्यमन्त्रीको प्रतिबद्धता

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १७:३४, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। 

​नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई डर र त्रासको वातावरणबाट मुक्त राख्ने बताए। व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै प्रदेशको समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए। 

आगामी वर्षको बजेटलाई उपलब्धिमूलक क्षेत्रमा केन्द्रित गर्न निर्देशन दिइसकेको जानकारी दिँदै उनले विकासलाई फराकिलो ढङ्गले बुझ्न आग्रह गरे। विकास भनेको बाटो र पुल मात्र नभएर सूचना प्रविधि र पर्यटन पनि भएको उल्लेख गर्दै ती क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गरे।

​कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइरालाले महानगरले सदैव उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाए। महासंघका नवनिर्वाचित अध्यक्ष राजेन्द्रबहादुर राउतले राजनीतिक स्थिरताले जलविद्युत्, पर्यटन, उद्योग र कृषिको विकासमा टेवा पुग्ने र यसले समग्र आर्थिक समृद्धि ल्याउने विश्वास व्यक्त गरे।

​समारोहमा महासंघका उपाध्यक्ष दिपसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य सुयेश प्याकुरेल, पूर्वउपाध्यक्ष किशोर प्रधान, नरेन्द्र खड्का तथा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष पवन शारडा लगायतले निजी क्षेत्रको हकहितका लागि सरकार र महासंघबिच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा अध्यक्ष राउतसहितका नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराई पदस्थापन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad