निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका आठ वटा जनप्रतिनिधिको पद स्वतः रिक्त भएको घोषणा गरेको छ।
आयोगले एक सूचना जारी गर्दै नेकपा (एमाले) का तर्फबाट निर्वाचित भई पछि दल परिवर्तन गरेका आठ जना वडाध्यक्षलाई पदमुक्त गरेको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा एमाले केन्द्रीय सचिवालयले निर्णय गरी आयोगमा पठाएको थियो।
त्यही सिफारिशका आधारमा आयोगले छानबिन गरेर जेठ २६ गते ती जनप्रतिनिधिहरू निर्वाचित भएका पालिका र तहका पदहरू स्वतः रिक्त भएको निर्णय गरेको हो। यसरी कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै कोसी प्रदेशका जनप्रतिनिधि रहेका छन्।
ओखलढुंगाको मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, मोलुँ–६ का वडाध्यक्ष कमल तामाङ र चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा पदमुक्त भएका छन्। यसैगरी मोरङको लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनालको पद पनि रिक्त भएको छ।
त्यस्तै, लुम्बिनी र बागमती प्रदेशका वडाध्यक्ष पनि कारबाहीमा परेका छन्। पाल्पाको माथागढी गाउँपालिका–१ का राजकुमार पन्थी, दाङको घोराही उपमहानगरपालिका–४ का मधुसुदन शर्मा र ललितपुरको बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईंको पद निर्वाचन आयोगको निर्णयसँगै रिक्त भएको छ।
सम्बन्धित राजनीतिक दलले आफ्ना जनप्रतिनिधिले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको प्रमाणित निर्णयसहित आयोगमा जानकारी गराएपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम यो सूचना सार्वजनिक गरेको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित यी जनप्रतिनिधिहरू पदमुक्त भएसँगै सम्बन्धित वडामा वडाध्यक्षको पद रिक्त हुन पुगेको छ।
Shares

प्रतिक्रिया