जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको चुनाव केवल सरकार फेरबदलको प्रक्रिया मात्र नभई शासन प्रणालीको चरित्र परिवर्तन गर्ने अवसर भएको बताएका छन्।
बुधबार सप्तरी-३ मा चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सुशासनविना विकास सम्भव नभएको र भ्रष्टाचार नियन्त्रण नगरी लोकतन्त्र बलियो नहसने बताए। अहिलेको पुस्ताले त्यही माग गरिरहेको उनको भनाइ थियो।
‘आजको युवा पुस्ता चुप लागेर बस्ने होइन, प्रश्न गर्ने पुस्ता हो। उनीहरूले पारदर्शी निर्णय प्रक्रिया, सार्वजनिक खर्चको खुला विवरण र राजनीतिक हस्तक्षेपबाट मुक्त सरकारी निकाय चाहेका छन्,’ यादवले भने, ‘यही मागलाई सम्बोधन गर्न जसपा नेपाल अघि बढिरहेको छ।’
अध्यक्ष यादवले मतदाताले पनि चुप नलागेर परिवर्तनका लागि मतदान गर्ने समय आएको बताए। ‘अब चुप लाग्ने होइन, परिवर्तनको नेतृत्व गर्ने समय आएको छ,’ उनले भने।
उनले पद, पहुँच र राजनीतिक संरक्षणका कारण कसैलाई उन्मुक्ति दिन नहुने जिकिर गरे। ‘दोषी जो-कोही भए पनि कानुन अनुसार कारबाही हुनुपर्छ। पद, पहुँच र राजनीतिक संरक्षणका कारण अब कसैलाई उन्मुक्ति दिइनेछैन,’ उनले भने।
उनले अख्तियार, अदालत र अनुसन्धान निकायलाई पूर्ण रूपमा स्वायत्त र सशक्त बनाउनुपर्ने बताए। ‘अब व्यक्तिको शासन होइन, कानुनको शासन अपरिहार्य छ,’ उनले भने।
Shares

प्रतिक्रिया