ad ad

समाज


तुइन काटेर जयसिंह बेपत्ता पार्ने एसएसबीलाई कारबाही कहिले?

तुइन काटेर जयसिंह बेपत्ता पार्ने एसएसबीलाई कारबाही कहिले?

(इन्सेटमा जयसिंह धामी, पृष्ठभूमिमा उनी बेपत्ता पारिएको महाकाली नदी।


गोकुल जोशी
असोज १३, २०७८ बुधबार १३:२७, काठमाडौँ

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटेर महाकाली नदीमा नेपाली नागरिकलाई खसाएको २ महिना बित्न लागेको छ। गत साउन १५ गते महाकाली नदी तर्दै गर्दा एसएसबीले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका हुन्। 

तर घटना भएको २ महिना बित्नै लाग्दा पनि सरकारले पीडितलाई न्याय दिन सकेको छैन। घटना छानबिनका लागि गत साउन १७ गते गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव जनार्दन शर्माको संयोजकत्वमा समिति बनाएका थिए।

छानबिन समितिले भारतीय सुरक्षा बल (एसएसबी) को उपस्थितिमा घटना भएको निष्कर्ष निकालेको थियो। भदौ १५ गते समितिले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाउँदै एसएसबीको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कारबाही गर्न सिफारिस पनि गरेको थियो। 

तर अहिलेसम्म यस विषयमा कुनै कारबाही प्रक्रिया अघि नबढाइएको हो। घटनामा सरकारले उदासीनता देखाएको गुनासो जयसिंहका भाइ नरेन्द्र सिंह धामीले गरे। 

‘सरकारले सीमावासीको पीडा सुनेको छैन। दाइ (जयसिंह) लाई न्याय दिन सरकारले तदारुकता देखाउनुपर्ने हो’, उनले नेपालखबरसंग भने, ‘तर सुरुवातदेखि नै सरकार त्यसमा चुक्यो। सरकारकै उदासीनताले गर्दा हामीले न्याय पाउन सकेका छैनौं।’

घटना भएको दुई महिना बित्न लाग्दा पनि दोषी एसएसबीलाई कारबाही नहुँदा न्याय पाउने आशा मरेको उनले बताए। ‘छानबिन समितिको प्रतिवेदनपछि सरकारले एक्सन लिने र न्याय पाउने आशा थियो। प्रतिवेदन बुझाएको पनि एक महिना भइसक्यो तर सरकारले केही एक्सन लिन सकेको छैन’, उनले भने, ‘एसएसबीलाई कारबाही गर भन्न सकेको छैन। अब त न्याय पाउने आशा नै मरेको छ।’

वैदेशिक रोजगारीमा जान काठमाडौं हिँडेका जयसिंह एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका हुन्। त्यस बेला सबैको ध्यान खिचेको घटना अहिले सेलाउँदै गएको छ। 

जयसिंहलाई न्याय दिनुको साटो सरकार घटना ढाकछोप गर्न लागेको पीडित परिवारको दाबी छ। ‘छानबिन समितिले १० दिनमा प्रतिवेदन बुझाउनुपर्ने थियो, एक महिना समय लगाइयो। प्रतिवेदन आएपछि पनि सरकारले एक्सन लिन सकेन’, उनले भने, ‘यसले गर्दा न्याय दिनुको सट्टा सरकार नै घटना लुकाउन लागेको देखिन्छ।’

छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेर जयसिंहलाई न्याय दिनुको साटो सरकारले पीडित परिवारलाई आर्थिक सहयोग दिने विषयलाई प्राथमिकता दिएको थियो। प्रतिवेदन सार्वजनिक हुनुअघि नै सरकारले जयसिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो। 

जयसिंहको परिवारले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ। आर्थिक सहयोगभन्दा पनि जयसिंहलाई न्याय दिएर सरकारले उनका छोराछोरीको शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने नरेन्द्रसिंह बताउँछन्। 

गरिब परिवारका जयसिंह महाकालीमा बेपत्ता भएपछि उनको परिवार बिचल्लीमा परेको छ। उनको घरमा श्रीमती, डेढ वर्ष र ५ वर्षका दुई छोरी छन्।

तुइन प्रकरणमा भारतसँग कुरा गरेर जयसिंहको लागि न्यायको आवाज उठाउन सरकार डराएको उनको टिप्पणी छ। ‘घटनाको करिब एक महिनासम्म भारत सरकारलाई यस विषयमा कुनै जानकारी नै थिएन’, उनले भने, ‘त्यसैले यस विषयमा भारतसँग कुरा गर्न सरकार डराएको देखिन्छ।’ 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भदौ १८ गते दार्चुला घटनाबारे सरकारलाई कुनै औपचारिक जानकारी नभएको बताएका थिए। 

छानबिन समितिले एसएसबीको संलग्नतामा घटना भएको निष्कर्ष निकालेको र  घटना भएको एक महिनासम्म पनि भारतलाई यसको जानकारी नदिइएको भन्दै सरकारको व्यापक आलोचना भएको थियो। 

त्यसपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको थियो। तर भारतले यसमा अझै केही प्रतिक्रिया देखाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .