ad ad

समाज


सीता भण्डारी मृत्यु प्रकरण : ‘सुसाइड नोट’ फेला पर्‍यो

सीता भण्डारी मृत्यु प्रकरण : ‘सुसाइड नोट’ फेला पर्‍यो

सुदीप भण्डारी
असोज १५, २०७८ शुक्रबार २१:४०, काठमाडौँ

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारी मृत्यु प्रकरणको अनुसन्धानको क्रममा सुसाइड नोट फेला परेको प्रहरीले दाबी गरेको छ।

मृतकका श्रीमान टीका पौडेलसँग भएको म्यासेजको विश्लेषण गर्दा सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरी कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा दुवै जनाको मोबाइल प्राविधिक परीक्षणको लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइएको र ल्याबको प्रतिवेदन अनुसार मृतक सीताले भदौ २० गते राति १२ बजेर १७ मिनेटमा सुसाइड नोट लेखेको पाइएको उल्लेख छ। 

सो नोटमा ‘...मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ भनि लेखिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए।

सुसाइड नोट रोमनाइज नेपालीमा लेखिएको र भाषा शैली र प्याटर्न विगतको एसएमएससँग मिल्ने देखिएको प्रहरीको दाबी छ। 

२७ वर्षीया सीता भण्डारी गत भदौ २० गते विहान साढे ४ बजे तिलोत्तमा ४ स्थित आफ्नै घरको कोठामा मृत फेला परेकी थिइन्। पोष्टमार्टम रिपोर्टमा झुन्डिएर मृत्यु भएको उल्लेख छ।

माइती पक्षले उनको आत्महत्या नभई हत्या भएको आरोप लगाएको छ। माइती पक्षले हत्याको जाहेरी दिन खोजे पनि प्रहरीले मानेको छैन।

दबाब पछि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा अघि बढाएको छ। मृतकका बुवा हरि प्रसाद भण्डारीले दिएको जाहेरीका आधारमा मृतकका श्रीमान टिका पौडेल, आमाजु बिष्णु पौडेल, जेठाजु हरिप्रसाद पौडेललाई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाएको छ। 

यता, माइती पक्षले भने सुसाइड नोटलाई विश्वास गर्न नसकिने बताएको छ। माइती पक्षले प्रहरीको अनुसन्धान फितलो भएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। भण्डारीको मृत्यु भएको १५ दिन भन्दा बढी भइसक्दा पनि अझै उनको शव उठाउन मानेका छैनन्। 

२७ वर्षीया सीताको २ वर्षअघि तिलोत्तमा मणिग्रामका टीका पौडेलसँग मागी विवाह भएको हो। ४३ वर्षीय टीका र सीताले पाल्पामा होटल सञ्चालन गरेका थिए। तीजको बेलामा उनीहरु दुवै जना तिलोत्तमा आएका थिए। भदौ ७ गते उनी तीज मान्न माइत गएकी थिइन्।

भदौ १९ गते भतिजाको जन्मदिन छ भन्दै सीतालाई श्रीमान टीकाले बोलाएकोमा सोही दिन दिउँसो घर गएको माइती पक्षले बताएका छन्। 

२० गते विहान ५ बजे ज्वाइँ टीकाले जरुरी काम छ भनेर तुरुन्त आउन भनेका थिए। सीताको मुखबाट रगत बगेको, गलामा चुन्नी कसिएको र भूईंमा लडेको अवस्थामा शव देखिएको थियो।

शरीरमा निलडामहरु पनि रहेकाले आत्महत्या नभई कुटपिटबाट हत्या नै भएको सीताको माइती पक्षको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .