नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरले आफ्ना सुहकर्मी र मातहत प्रहरी कर्मचारीप्रति कुनै पनि प्रभावबाट मुक्त रही निष्पक्ष व्यवहार गर्ने प्रतिवद्धता जनाएका छन्।
आइतबार गृह मन्त्रालयमा गृह सचिव विनोद प्रकाश सिंहबाट दर्ज्यानी चिन्ह ग्रहण गर्दै कुनै पनि भावनाबाट प्रभावित नभई काम गर्ने बताए।
‘गौरवको समय मात्रै नभई गम्भीर जिम्मेवजारी बोधको समय पनि हो। नेपाल सरकार गृह मन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी आफ्ना सहकर्मी र मेरामातहत प्रहरी कर्मचारीप्रति कुनै पनि प्रभावको भवनाबाट मुक्त रही निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’, महानिरीक्षक कुँवरले भने।
२८ वर्ष लामो व्यवसायीक योगदानलाई कदर गर्दै सरकारले महानिरीक्षकमा पदोन्नती गरेर संगठनको नेतृत्व गर्न योग्य ठानेकोमा प्रधानमन्त्री, गृह मन्त्रालय र मन्त्रिपरिषदप्रति आभार व्यक्त गरे।
प्रहरी संगठनका २५ सय युनिटको काम थप प्रभावकारी बनाउने र राज्यप्रति आम नागरिकको विश्वास बढाउने कार्यमा आफ्नो जोड रहने कुँवरले बताए।
‘कसैले मार्ग विराएका छन् भने तिनीहरुले आफूलाई नसुधारी छुट छैन। अवसरको निष्पक्ष उपलब्धता, प्रहरीको आन्तरिक शुद्धीकरणबाट डगमगाउने छैन। अपराधको रोकथाममा कुनै पनि बहाना र सम्झौता हुँदैन’, कुँवरले भने।
नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग निरन्तर सहकार्य मार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ शान्ति सुरक्षामा गुनासो आउने अवसर नदिने बताए।
आफ्ना लक्ष्य र योजना सफल बनाउन सहकर्मी अतिरिक्त प्रहरी महानिरीक्षकहरुसँग सहकार्य गरेर कार्यन्वयनमा लैजाने पनि कुँवरले बताए।
दर्ज्यानी चिन्ह लगाइसकेपछि महानिरीक्षक कुँवर पद बहालीका लागि प्रहरी प्रधान कार्यालय पुगेका छन्।
प्रतिक्रिया