प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चालु आर्थिक वर्षको गत तीन महिनाका उपलब्धि सार्वजनिक गरेका छन्।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग नेपाल प्रहरी कार्ययोजना-२०८० र चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धि सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्रालयबाट प्राप्त निर्देशनअनुरूप संगठनको सुदृढीकरणका लागि उपयुक्त वातावरण बनाएर अघि बढ्ने बताए।
सञ्चारकर्मीहरूले राखेका जिज्ञासाबारे बोल्दै उनले प्रहरी संगठनलाई थप सुदृढ बनाउँदै छवि सुधारका लागि समन्वय र सहकार्य गर्दै जाने बताए।
संगठनका चुनौती सामना गर्न प्रहरीले गम्भीरतापूर्वक योजना बनाई कार्यान्वयन गर्दै जाने उनले जानकारी दिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवर, वरिष्ठ प्रहरी अधिकृतहरू र उपस्थित सञ्चारकर्मीहरूबीच उक्त कार्ययोजना कार्यान्वयनका साथै अन्य समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया भयो।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले चालु आर्थिक वर्षको त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क प्रस्तुत गर्दै राष्ट्रिय स्तरमा चर्चित उल्लेख्य अपराध अनुसन्धान, अवैध हातहतियार बरामद, नष्ट तथा मानिस पक्राउ, सवारी दुर्घटना, विपद् व्यवस्थापन, नेपाल प्रहरीबाट भएका नयाँ कार्यहरू, अन्तर्राष्ट्रिय प्रहरी समन्वय लगायत जानकारी दिए।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक विष्णुकुमार केसीले नेपाल प्रहरी कार्ययोजना-२०८० को संक्षिप्त प्रस्तुति गर्दै कार्ययोजनाको परिचय, उद्देश्य, मुख्य लक्ष्यहरू, कार्ययोजना क्रियाकलापहरूको समष्टिगत विश्लेषणात्मक प्रगति विवरण र कार्ययोजनाका गतिविधिबारे जानकारी दिए।
Shares

प्रतिक्रिया