समाज


अध्यागमनका कर्मचारीलाई हातपात गर्ने असईसहित तीन जनालाई रानीपोखरी तानियो

अध्यागमनका कर्मचारीलाई हातपात गर्ने असईसहित तीन जनालाई रानीपोखरी तानियो

नेपालखबर
माघ २६, २०८० शुक्रबार १७:५४, काठमाडौँ

विमानस्थलमा अध्यागमनका अधिकृतलाई हातपात गर्ने तीन प्रहरीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ।

छानबिन समितिले विभागीय कारबाही गर्न सिफारिस गरेका असई सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई बिहीबार विमानस्थलबाट रानीपोखरी सरुवा गरिएको हो।

छानबिन समितिको सिफारिस अनुसारको कारबाही प्रक्रिया अगाडि बढाउनका लागि उनीहरूलाई विमानस्थल कार्यालयबाट रानीपोखरी सरुवा गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।

मैनालीले नेपालखबरसँग भने, ‘तीनजना बिहीबार विमानस्थल सुरक्षा कार्यालयबाट यहाँ काज सरुवा हुनु भएको छ। छानबिन समितिको प्रतिवेदन आइसकेपछि अन्य प्रक्रिया हुन्छ।’

छानबिन समितिले डीएसपी रेवतीरमण पोखरेललाई पनि सचेत गराउन सिफारिस गरेको थियो। उनलाई अन्य विभागीय कारबाही गर्न सिफारिस नभएकाले उनी भने विमानस्थलमै कार्यरत छन्।

गत माघ १२ गते विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत छायाँ मोक्तानलाई चेकजाँच गर्ने क्रममा प्रहरी र मोक्तानबीच हात हालाहाल भएको थियो। मोक्तानले आफूलाई चेकजाँच गर्न दिएका थिएनन् भने प्रहरीले जबर्जस्ती चेकजाँच गर्न खोजेका थिए। त्यही क्रममा उनीहरुबीच हात हालाहाल नै भएको थियो।

सोही विषयलाई लिएर गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। समितिले मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरेको थियो।

यस्तै प्रहरीलाई पनि विभागीय कारबाही सिफारिस गरेको थियो। मोक्तानलाई प्रतिवेदन बुझाए लगतै गृह मन्त्रालय तानिएको थियो।

प्रहरीलाई पनि अहिले विमानस्थलबाट हटाइएको हो। यसअघि नै उनीहरुलाई विमानस्थलको शरीर जाँच गर्ने गेटबाट हटाइएको थियो।

गृह मन्त्रालयले विमानस्थल प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दलाई पनि विमानस्थलबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको छ। उनलाई प्रदेश समन्वय विभागमा काज सरुवा गरिएको छ।

उनको दरबन्दी भने यसअघि नै साइबर ब्यूरोमा थियो। एसएसपीको दरबन्दी रहेको विमानस्थलमा उनलाई काजमा खटाइएको थियो।

डीआईजी चन्दले समितिले सिफारिस गरेका प्रहरीहरूलाई पुरस्कृत गरेका थिए। समितिले कारबाही सिफारिस गरेको उनको असन्तुष्टि थियो।

त्यही असन्तुष्टिका कारण उनले राजीनामा समेत बुझाएका थिए। तर प्रहरी महानिरीक्षकसहितको आग्रहपछि उनले राजीनामा फिर्ता लिएर १० दिनको बिदा लिएका थिए। उनी हाल बिदामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .