समाज


यी प्रहरी जवान, जसले भागेका अभियुक्त पक्रिन खोज्दा गुमाए ज्यान

यी प्रहरी जवान, जसले भागेका अभियुक्त पक्रिन खोज्दा गुमाए ज्यान

प्रहरी जवान सोहन चौधरी


नेपालखबर
फागुन २८, २०८० सोमबार २२:७, काठमाडौँ

दार्चुलामा हिरासतबाट भागेका थुनुवालाई समात्न खोज्दा भीरबाट लडेर एक प्रहरीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा रहेका महाकाली नगरपालिका–१ का उमेशसिह कुँवर भागेपछि उनलाई रोक्न खोज्दा भीरबाट लडेर प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको हो। 

अभियुक्त कुँवरलाई सोमबार दिउँसो थुनुवा कक्षबाट मुद्दा शाखा लगिएको थियो। त्यस क्रममा उनी हतकडीसहित जिल्ला प्रहरी कार्यालय भवनपछाडिको भीरबाट हामफालेर भाग्ने क्रममा समात्न खोज्दा प्रहरी जवान चौधरी पनि भीरबाट खसेका थिए।

करिब सय मिटर तल खसेका प्रहरी जवान चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसपछि जिल्ला अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

हतकडीसहित महाकाली नदी तरेर भारत पुगेका कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए। 

यसअघि गत माघ ७ गते ड्युटीमा खटिएका दुई प्रहरीलाई चक्कु हानेका कुँवरलाई फागुन २२ गते प्रहरीले पक्रेको थियो। श्रीमती धनिषा कुँवरलाई कुटपिट गरेको भनी उजुरी आएपछि सोधपुछका लागि लिन पुगेका प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नालाई चक्कुले हानेका थिए। चक्कुले ठगुन्नाको आँखामा चोट लागेको थियो।

कुँवरविरुद्ध अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

*यसअघि असम्बन्धित तस्बिर परेकामा क्षमायाचनासहित सच्याएका छाैँ- सम्पादक।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .