सहकर्मी महिला प्रहरीले प्रेम प्रस्ताव अस्वीकार गर्दा सिन्धुलीमा एक प्रहरी जबानले आफैँलाई गोली प्रहार गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार बिहान आफैँलाई गोली हानेका थिए।
गोली प्रहारबाट गम्भीर घाइते भएका २२ वर्षीय रायको हाल काठमाडौँ महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
उनको शुक्रबारै अप्रेशन भएको र अवस्था सुधारोन्मुख रहेको जिप्रका सिन्धुलीकी प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।
स्रोतका अनुसार शुक्रबार प्रणय दिवसका दिन रायले सहकर्मी महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए। ती महिला प्रहरीले उनको प्रेम प्रस्ताव अस्विकार गर्दा उनले आफैँलाई गोली प्रहार गरेका हुन्। उनीहरु दुबै अविवाहित हुन्।
प्रेम प्रस्ताव अस्वीकार हुँदा रायले सँगै डिउटीमा रहेकी प्रहरी जवान २२ वर्षीया संगिता चौधरीको साथमा रहेको ३०३ राइफल खोसेर आफैँलाई गोली हानेका हुन्।
राय सर्लाहीको बहुअर्वा गाउँपालिका ६ का स्थायी बासिन्दा हुन्। प्रेम प्रस्ताव अस्विकार हुँदा रायले आत्महत्याको प्रयास गरेको हल्ला आफूले पनि सुनेको एसपी सिग्देलले बताइन्।
‘उनले के कारणले आत्म हत्या प्रयास गरेका हुन्, हामी अनुसन्धानमै छौँ,’ एसपी सिग्देलले नेपालखबरसँग भनिन्, ‘अहिले नै यही कारणले भन्ने खुलेको छैन। उनी उपचारमै छैन, उपचार पछि सबै कुरा खुल्छ।’

प्रतिक्रिया