गएको शनिबार सुनकोशी नदीमा जिप खस्दा बेपत्ता भएका भक्तपुरका तीनजना युवा अझै भेटिएका छैनन्।
घटना लगत्तैदेखि निरन्तर खोजी गरिरहे पनि उनीहरुलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।
‘हामीले शनिबारदेखि नै निरन्तर उनीहरुको खोजी गरिरहेका छौँ,’ काफ्लेले नेपालखबरसँग भने, ‘आज पनि बिहानैदेखि खोजी कार्य जारी छ। तर, उनीहरु फेला परेका छैनन्।’
बेपत्ता युवाको खोजीमा प्रहरीको गोताखोर टोली, जनपद प्रहरी र स्थानीयवासी खटिएका छन्।
गएको शनिबार साँझ खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ फर्किंदै गरेका चार युवा सवार प्रदेश- ३.ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा खसेको थियो।
उक्त गाडीलाई आइतबार बिहान अढाई बजे सुनकोसीबाट निकालिएको थियो।
गाडीमा सवार भक्तपुर सूर्यविनायक नगरपालिकाको जगाती घर भएका गाडी चालक ३२ वर्षीय अबिन बडे, ३० वर्षीय प्रनित स्यागू र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता भएका हुन्।
सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन्।
Shares

प्रतिक्रिया