असार २ बाट पृथ्वीको परिक्रमा गर्न थालेको नेपालको पहिलो नानो भूउपग्रह ‘नेपाली स्याट वान’ले अन्तरीक्षमा विभिन्न प्रयोगहरु गरेको छ। ती मध्ये दुई वटा परीक्षण महत्वपूर्ण छन्।
नेपाली स्याट वानले सञ्चारसम्बन्धी नयाँ प्रविधि लोरा र एटिच्युट परीक्षण सफलापूर्वक गरेको छ। एटिच्युट परीक्षण भनेको पृथ्वीको परिक्रममा गरिरहेको भूउपग्रहलाई ग्राउण्ड स्टेसनबाट कमाण्ड दिएर रोक्ने काम हो।
लोरा प्राकृतिक प्रकोपका समयमा कम ऊर्जा प्रयोग गरेर सञ्चार गर्न सकिने नयाँ प्रविधि हो। नेपाली स्याट वानले पृथ्वीका विभिन्न स्थानमा फोटोहरु पनि खिचेको छ।
‘हामीले पठाएको स्याटलाइट स्टेवल रुपमा काम गरिरहेको छ। जे सोचेका थियौं त्यसैगरी काम गरिरहेको छ। सबै परीक्षणहरु सफल भएका पनि छन्। नानो स्याटलाइटले खिचेको केही फोटोहरु केही दिनमा सार्वजनिक गर्नेछौं’, भूउपग्रह बनाउने काममा संलग्न बड्र्स थ्री कार्यक्रममा संयोजक आभास मास्केले नेपालखबर भने, ‘जापानको सञ्चार मन्त्रालयले स्याटलाइटसँग टु वे कम्युनिकेसन गरेको प्रमाणित गरेसँगै फोटो सार्वजनिक गर्नेछौं।’
प्रशान्त महासागर मात्रै नभएर पृथ्वीका एक चौथाइ भाग आउने गरी नेपाली स्याट वानले फोटोहरु पनि खेचेको उनले बताए। अध्ययन प्रयोजनका लागि पठाइएको सो नानो भूउपग्रहमा ५ मेगापिक्सलका क्यामेरा जडान गरिएको छ। ‘धेरै ठूलोभन्दा पनि प्रचारका लागि काम लाग्ने तस्वीर खिच्न थोरै मेगापिक्सलको क्यामेरा जडान गरेका हौं,’ उनले भने।
असार २ मा नेपालसहित जापान र श्रीलंका भूउपग्रह अन्तरीक्षमा छाडिएका थिए। भुटानको ग्राउन्ड स्टेसनले पहिलो पटक नेपाली स्याट वानसँग सम्पर्क गरेको थियो। भुटानले यसअघि नै अन्तरीक्षमा नानो भूउपग्रह छोडिसकेको छ।
मास्केका अनुसार नेपाली स्याट वानसँग अर्जेन्टिना, थाइल्यान्ड, फिलिपिन्स, भुटानसहित वल्र्ड कार्यक्रममा आवद्ध भएका देशका ग्राउण्ड स्टेसनबाट सम्पर्क भइरहेको छ। नेपालमा पनि पिक्यु (पकेट स्याटलाइट) बनाउँदै आएको ओराइन स्पेशको ग्राउण्ड स्टेसनले पनि केही सिंगलनलाई डिकोड गरेको छ।
‘नेपाली स्याट वानको केही सिग्नललाई हामीले पनि डिकोट गरेका छौं’ ओराइन स्पेसका जितेन थापाले नेपालखबरसँग भने।
पृथ्वी सतहभन्दा ४ सय किलोमिटर माथि रहने यो भूउपग्रहले प्रत्येक ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गरिरहेको छ। त्योमध्ये ६० मिनेट उज्यालोतिर र ३० मिनेट अँध्यारोमा रहन्छ। नेपालमाथिको आकाशमा यसले दिनमा चार फन्का लगाइरहेको छ।
बैशाख ५ मा अमेरिका भर्जिनियाबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)मा लैजाने कार्गोसँगै नेपाली स्याटलाइट वान पठाइको थियो। करिब दुई महिनापछि त्यसलाई अन्तरिक्षमा छाडिएको थियो।
जापान सरकारको सहयोगमा बर्ड्स कार्यक्रम अन्तर्गत नेपाली स्याट वानसिहतका नानो भूउपग्रहहरु निर्माण भएका हुन्। ती उपग्रहहरु व्यवसायिक होइनन्। अध्ययन प्रयोजनका हुन्।

प्रतिक्रिया